काठमाण्डौ । पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने राष्ट्रिय नाराका साथ ज्येष्ठ नागरिकहरूको हितका लागि विभिन्न कल्याणकारी योजनाहरू घोषणा गरिएको छ । ज्येष्ठ नागरिकहरूको मर्यादित जीवन सुनिश्चित गर्न राज्यले विशेष पहलकदमी लिएको छ ।
स्वास्थ्य समस्या समाधानका लागि विशेष हटलाइनः ज्येष्ठ नागरिकहरूले भोग्नुपरेका स्वास्थ्य सम्बन्धी समस्या र गुनासोहरू सिधै सुन्नका लागि ‘१११५’ नम्बरको विशेष हटलाइन सेवा व्यवस्थापन गर्ने प्रक्रिया स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा अगाडि बढाइएको छ । यस सेवामार्फत ज्येष्ठ नागरिकहरूले आफ्ना स्वास्थ्य सम्बन्धी समस्या र गुनासोहरू कुनै पनि समयमा सिधै मन्त्रालयसमक्ष राख्न सक्नेछन् ।
एक महिनाभित्रै निस्शुल्क एम्बुलेन्स सेवाः मन्त्रालयले हरेक प्रदेशमा ज्येष्ठ नागरिक लक्षित निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
यसका लागि आवश्यक गृहकार्य भइरहेको र एक महिनाभित्रै यो सेवा उपलब्ध गराइने लक्ष्य राखिएको छ । विशेषगरी पशुपति वृद्धाश्रमको अनुगमनका क्रममा देखिएको स्वास्थ्यकर्मी र एम्बुलेन्सको अभावलाई सम्बोधन गर्दै उक्त आश्रमको स्तरोन्नति गर्ने कार्य पनि अगाडि बढिसकेको छ ।
यातायातमा थप सुविधा र छुटको व्यवस्थास् ज्येष्ठ नागरिकहरूलाई सार्वजनिक यातायातमा थप सहजता प्रदान गर्न थप सुविधा र छुटहरू उपलब्ध गराउने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल र समन्वय भइरहेको छ । यसले ज्येष्ठ नागरिकहरूको आवतजावतलाई थप सुलभ र सम्मानजनक बनाउने अपेक्षा गरिएको छ ।
नेपाल सरकारले २०५१ साल पौष ११ गते पहिलो पटक वृद्धभत्ता घोषणा गरेको ऐतिहासिक दिनको स्मरणमा २०७८ सालदेखि राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरेको हो ।

