काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्की जिल्लास्थित सार्वजनिक विद्यालयको जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता गराइ भ्रष्टाचार गरेको आरोपमा ६ जनाविरुद्ध विशेष अदालत, काठमाण्डौमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार, पोखरा महानगरपालिका–२६ स्थित सामुदायिक अमरज्योति आधारभूत विद्यालयको कित्ता नम्बर ७२५ को ३ रोपनी ३ आना जग्गा सुकुम्बासीको नाममा दर्ता हुनुपर्नेमा गैरसुकुम्बासी व्यक्तिको नाममा दर्ता गरिएको पाइएको छ। यस क्रममा पदको दुरुपयोग गरी अवैध लाभ लिने–दिने उद्देश्यले निर्णय गरिएको आयोगको ठहर छ।
अनुसन्धानका क्रममा प्रतिवादी भीमबहादुर बिकले झूटा विवरण पेश गरी सुकुम्बासी प्रमाणित गरिएको पाइएको छ । पुरानो अधुरो निर्णय कार्यान्वयनको बहाना बनाई अवैध कागजातको आधारमा जग्गा दर्ता र प्रमाणपत्र जारी गरिएको पनि आयोगले जनाएको छ। अख्तियारले बिकविरुद्ध १ करोड ४० लाख रुपैंया हानीनोक्सानी भएको दावी गरेको छ ।
आरोपपत्रमा राष्ट्रिय भूमि आयोग, जिल्ला समिति कास्कीका तत्कालीन अध्यक्ष गंगाप्रसाद पोख्रेल, सदस्यहरू आशबहादुर गुरुङ, उमा कुमारी थापा, सोमबहादुर नेपाली, मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारी र लाभग्राही भीमबहादुर बिकको संलग्नता देखाइएको छ।

