काठमाण्डौ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य महेशप्रसाद काफ्लेले राजीनामा दिएका छन् । भूमि व्यवस्था, गरिबी तथा सहकारी मन्त्रालयले स्पष्टीकरण सोधेसँगै काफ्लेले पदबाट राजीनामा दिएका हुन्।
सहकारी ठगी प्रकरणमा संलग्न व्यक्तिहरूलाई संरक्षण गरिएको आरोप लागेपछि सहकारी पीडितहरू आन्दोलनमा उत्रिएका थिए। त्यसपछि सरकारले समितिका सबै पदाधिकारीसँग स्पष्टीकरण माग गरेको थियो। मन्त्रालयले सोधेको स्पष्टीकरणमा जवाफ बुझाएका काफ्लेले करिब एक महिनापछि राजीनामा दिएका हुन्। उनको राजीनामा नेपाल सरकार मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले काफ्लेको राजीनामा स्वीकृत गर्नुका साथै रिक्त पदमा कुलप्रसाद न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको छ।

