काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा समावेश उम्मेदवारका लागि आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन तोकिएको छ। निर्वाचन आयोगले आज अपरान्ह ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने व्यवस्था गरेसँगै बन्दसूची व्यवस्थापनको प्रक्रिया निर्णायक चरणमा पुगेको छ।
आयोगका अनुसार राजनीतिक दलहरूले यसअघि पेस गरेका बन्दसूचीलाई अन्तिम रूप दिन उम्मेदवारलाई स्वेच्छिक रूपमा नाम फिर्ता लिने अवसर दिइएको हो। आज बिहान १० बजेदेखि आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमार्फत उम्मेदवारी फिर्ता प्रक्रिया सञ्चालन भइरहेको छ।
आयोगले उम्मेदवारी फिर्ताका लागि प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ अनुसारको ढाँचामा निवेदन दिनुपर्ने स्पष्ट पारेको छ।
संविधानअनुसार २७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने भएकाले बन्दसूची र उम्मेदवारी फिर्ता प्रक्रिया निर्वाचनको महत्त्वपूर्ण आधार मानिन्छ।

