काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.२० प्रतिशत अर्थात ५.५४ अंकले घटेर २ हजार ६३५ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३५ प्रतिशतले घटेर ४५४.३१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३३ वटा स्क्रिप्टको १ करोड २३ लाख ९ हजार ७४४ कित्ता सेयर ६ अर्ब ४७ करोड २६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार विरेन्द्र बिष्ट भन्छन्, ‘बजार घटिहाल्नुपर्ने त्यस्तो कारण छैन । आजको सामान्य घटाई पुस मसान्तको क्लोजिङको प्रेसर हो । भोलिदेखि फेरि बजार फर्किने सम्भावना छ । राजनीतिक अवस्था र चुनावी माहोल तातितै गएकाले बजारलाई त्यस्तो नकारात्मक असर पार्ने खालको समाचारहरु पनि केही आएका छैनन्, बाँकी सेयरबजार बढ्नका लागि थुप्रै आधारहरु रहेकाले बजार विस्तारै बढ्न सक्छ । आज थोरै भोल्युम बढेको छ । पुस मसान्तको दबाबमा लगानीकर्ताहरुले ब्याजदर तिर्नुपर्ने र ब्रोकर कम्पनीहरुले सेटलमेन्ट गर्नुपर्ने हुँदा पनि आज कारोबार थोरै बढी देखिएको हो । अहिलेको बजार भनेको लगानी गर्ने उचित अवसर पनि हो ।’
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटामा हरियाली छायो भने ९ वटामा रातो पोतियो । आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात १.०२ प्रतिशतले बढ्यो । यस्तै विकास बैंक समूह ०.०२, होटल ०.१० र म्युचुल फण्ड ०.११ प्रतिशतले बढ्यो ।
व्यापार समूह आज सर्वाधिक घट्यो । यो समूहमा आज १.१६ प्रतिशतको गिरावट आयो । बैंकिङ समूह पनि आज ०.२५ प्रतिशत, फाइनान्स ०.५३, हाईड्रो ०.११, लगानी ०.४२, जीवन बीमा ०.१८, लघुवित्त ०.६६, निर्जीवन बीमा ०.१४ र अन्य ०.२९ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज एसवाई प्यानलको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ४२ करोड २२ लाख बढीको सेयर कारोबार भयो ।
यस्तै, राधी विद्युतको ३१ करोड ५७ लाख, मन्जुश्री फाइनान्सको २७ करोड ८१ लाख र श्रीनगर एग्रीटेकको २५ करोड ५२ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका दुईवटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो। आज एसवाई प्यानल र श्रीनगर एग्रीटेकको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । रुसुवागढी हाईड्रोको सेयरमूल्य पनि ८.५३ प्रतिशत, बुङ्गल हाईड्रोको ५.४१ र ट्रेड टावरको सेयरमूल्य ५.३० प्रतिशतले बढ्यो।
यो सुपर मादी हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ४.२५ प्रतिशतले घट्यो। कालिका लघुवित्तको सेयरमूल्य पनि आज ३.८५ प्रतिशत र माया खोला हाईड्रोको सेयरमूल्य ३.७१ प्रतिशतले घट्यो ।

