काठमाण्डौ । टेस्ला र स्पेसएक्स जस्ता विश्वका ठूला कम्पनीहरूका अर्बपति मालिक एलन मस्कले एआईसम्बन्धी एक महत्वपूर्ण भविष्यवाणी गरेका छन्। उनका अनुसार आगामी ३६ महिनाभित्र पृथ्वीको तुलनामा अन्तरिक्षमा एआई प्रणाली स्थापना गर्नु अझ सस्तो पर्न सक्छ। मस्कले यसको कारण पनि स्पष्ट गरेका छन्।
उनका अनुसार अन्तरिक्षमा स्थापना गरिने एआई डाटा सेन्टरहरूलाई पृथ्वीभन्दा धेरै राम्रो सौर्य ऊर्जा उपलब्ध हुनेछ, जसका कारण त्यहाँ ब्याट्रीको आवश्यकता नै नपर्न सक्छ। मस्कले कुनै पनि सोलार प्यानलले पृथ्वीको तुलनामा अन्तरिक्षमा करिब पाँच गुणा बढी ऊर्जा उत्पादन गर्न सक्ने समेत बताएका छन् ।
विश्वभरका प्रविधि तथा एआई क्षेत्रका दिग्गजहरूले भविष्यमा अन्तरिक्षमा एआई डेटा सेन्टरहरू स्थापना गर्न सकिने सम्भावनाबारे लामो समयदेखि चर्चा गर्दै आएका छन्। यस दिशामा गुगलले काम पनि सुरु गरिसकेको छ। अब एलन मस्कले पनि यस्तै भविष्यवाणी गरेका छन्। द्वारकेश पटेलको एक पोडकास्टमा सहभागी हुँदै मस्कले भविष्यको एआई पूर्वाधार पृथ्वीभन्दा बाहिर हुन सक्ने संकेत दिएका छन्। उनका अनुसार पृथ्वीमा विस्तार गर्नु अन्तरिक्षमा विस्तार गर्नुको तुलनामा बढी कठिन हुँदै गइरहेको छ।
एलन मस्कले अन्तरिक्षमा एआई पूर्वाधार सफल हुने कारण पनि बताएका छन्। उनका अनुसार अन्तरिक्षमा सोलार प्यानलको कार्यक्षमता पृथ्वीभन्दा पाँच गुणा बढी हुनेछ। उनले पृथ्वीको वायुमण्डलका कारण करिब ३० प्रतिशत ऊर्जा क्षति हुने् बताए।
अन्तरिक्षमा यस्तो वायुमण्डलीय अवरोध नहुने भएकाले त्यहाँ दिन–रात वा मौसमी चक्रको समस्या पनि हुँदैन। यस कारण अन्तरिक्षमा एआई डेटा सेन्टरहरूका लागि ब्याट्रीको आवश्यकता पर्दैन र यो पृथ्वीको तुलनामा अझ किफायती हुनेछ। मस्कले अनुमान गरेका छन् कि आगामी ३६ महिनाभित्र, सम्भवतः ३० महिनामै, यस्तो प्रविधि व्यवहारमा आउन सक्छ।
हालको समयमा एआई प्रशिक्षणका लागि जीपीयु को विश्वसनीयतामाथि उठिरहेका प्रश्नहरूबारे मस्कले भने कि हार्डवेयर फेलियरबारे अत्यधिक चिन्ता लिनु आवश्यक छैन। उनका अनुसार जीपीयुहरूले प्रारम्भिक डिबगिङ चरण(जहाँ हार्डवेयरमा रहेका त्रुटिहरू पहिचान र समाधान गरिन्छ) पार गरेपछि एक निश्चित बिन्दुपछि निकै विश्वसनीय बन्ने गर्छन्।
एलन मस्कले गरेको भविष्यवाणीअनुसार यस क्षेत्रमा काम सुरु भइसकेको छ। विश्वप्रसिद्ध प्रविधि कम्पनी गुगलले अन्तरिक्षमा सूर्यको प्रकाशबाट सञ्चालन हुने एआई डेटा सेन्टरको अवधारणामा आफ्नो तयारी अघि बढाइसकेको छ। भनिन्छ, अन्तरिक्षमा स्थापना गरिने यी डाटा सेन्टरहरू उपग्रहझैँ पृथ्वीको कक्षा परिक्रमा गर्नेछन्। गुगलले यस परियोजनालाई ‘प्रोजेक्ट सनक्याचर’ नाम दिएको छ।

