काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.२२ प्रतिशत अर्थात् ६.०३ अंकले बढेर २ हजार ६५४.९३ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४२ प्रतिशतले बढेर ४५६.५१ विन्दुमा पुगेको छ।
आज नेप्सेमा सूचीकृत ३३५ वटा स्क्रिप्टका १ करोड ५३ हजार १४५ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब १७ करोड ४६ लाख रुपैयाँभन्दा बढी पुगेको छ। अघिल्लो कारोबार दिन भने ४ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।
आजको बजारबारे नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे भन्छन्, ‘बजारमा अहिले एक्युमुलेसन भइरहेको छ, पछिल्लो केही समययता लगातार मार्केट घटेकाले दुईतिन दिनयता बजारमा सुधार देखिएको छ, अहिले बजारको अवस्था हेर्दा साइडवेजबाट उक्लिएर प्लस जोनमै बसेको देखिन्छ । मार्केटमा खरिदकर्ताहरुको चाप देखिएको छ, जसले गर्दा बजारमा सामान्य सुधार देखिएको हो, तर अपेक्षा गरेअनुसारको भोल्युम बढ्न नसक्नुमा अहिले लगानीकर्ताहरु चुनावतर्फ बढी केन्द्रित भएर पनि हो । सम्भवतः चुनावको नतिजापछि मार्केट एक लेभलमा बढ्न सक्छ । यदि मार्केटले राम्रै गति लियो भने फन्डामेन्टल रुपमा बलिया कम्पनीहरु बैंक वित्तीय संस्था र बीमा कम्पनीहरु चल्न सक्छन् ।’
कुन समूहमा भयो कतिको थपघट ?
आज कारोबारमा आएका १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा हरियाली छायो । निर्जीवन बीमा समूह आज सर्वाधिक अर्थात १.०९ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज ०.६४ प्रतिशत, विकास बैंक ०.१३, फाइनान्स ०.७१, हाईड्रो ०.०५, लगानी ०.३५, जीवन बीमा ०.०३, अन्य ०.०५ र व्यापार समूह ०.४६ प्रतिशतले बढ्यो ।
आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात ०.४१ प्रतिशतले घट्यो । लघुवित्त पनि आज ०.२८, होटल ०.१६ र म्युचुअल फण्ड ०.२५ प्रतिशतले घट्यो ।
सर्वाधिक कारोबार हुने कम्पनी
आज अपि पावरको सर्वाधिक ३२ करोड ६८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
त्यसैगरी आँखुखोला जलविद्युतको २१ करोड १३ लाख, एसवाई प्यानल नेपालको १५ करोड ५१ लाख, ङादी ग्रुप पावरको १४ करोड ७९ लाख र रिडी पावरको १३ करोड १४ लाख बढीको सेयर कारोबार भएको छ।
सर्वाधिक कमाउने र गुमाउने कम्पनी
आज कारोबारमा आएका कम्पनीहरूमध्ये एउटा कम्पनीको सेयरमूल्यमा मात्रै सकारात्मक सर्किट लागेको छ। आज सालपा विकास बैंकको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।
यसैगरी रिलायन्स स्पिीनिङ मिल्सको सेयरमूल्य ९.२६ प्रतिशत, हिमस्टार उर्जाको ६ प्रतिशत, झापा इनर्जीको ३.९३ र मोलुङ हाईड्रोपावरको सेयरमूल्य ३.७३ प्रतिशतले बढ्यो ।
श्रीनगर एग्रीटेकको सेयरमूल्य सर्वाधिक ३.५७ प्रतिशतले घटेको छ।

