काठमाण्डौ । बजारमा नगद परिचालन ३.४९ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको माघ महिनाको मासिक विवरणअनुसार माघ महिनासम्ममा बजारमा ७ खर्ब ७६ अर्ब ३१ करोड रुपैयाँबराबरको नगद परिचालन भएको छ । गत असार महिनासम्ममा भने बजारमा ७ खर्ब ५० अर्ब ११ करोड रुपैयाँबराबरको नगद परिचालन भएको थियो ।
माघ महिनासम्म केन्द्रीय बैंकमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ३ खर्ब २२ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । जुन असार महिनाको तुलनामा १७.१० प्रतिशतले कम हो । गत असार महिनासम्म केन्द्रीय बैंकमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ३ खर्ब ८८ अर्ब रुपैयाँ थियो ।
यस्तै राष्ट्र बैंकमा सरकारको निक्षेप भने बढेको छ । गत असार महिनासम्म ७० अर्ब ८३ अर्ब रुपैयाँ सरकारी निक्षेप रहेकोमा पुससम्म बढेर ३ खर्ब २८ अर्ब पुगेको छ ।
माघ महिनासम्म राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्थाले १ अर्ब २१ करोड रुपैयाँबराबरको विदेशी मुद्रा निक्षेप गरेका छन् ।
यो अवधिमा राष्ट्र बैंकको कुल स्वेदेशी मुद्रा सम्पत्ति १ खर्ब ९ अर्ब रुपैयाँबराबर र कुल स्वदेशी दायित्व २३ खर्ब ४७ अर्ब रुपैयाँबराबर रहेको छ ।
यस्तै कुल विदेशी मुद्रा सम्पत्ति ३२ खर्ब ७ अर्ब र कुल विदेशी मुद्रा दायित्व ५५ अर्ब ७८ करोड रुपैयाँबराबर रहेको छ ।

