काठमाण्डौ । पश्चिम एसियामा जारी संकटका कारण विश्वभर कच्चा तेलको आपूर्ति झनै कडा हुँदै गएको छ । इरानले हर्मुजको खाडीबाट एक लिटर तेल पनि बाहिर जान नदिने बताएसँगै तेल आपूर्तिमा समस्या देखिन थालेको हो ।
हर्मुज खाडी मार्गबाट विश्वको करिब १७ प्रतिशत कच्चा तेलको आपूर्ति हुने गर्दछ, जसको अधिकांश तेल एसियाली देशहरुमा जाने गर्दछ ।
यसैबीच विश्वकै सबैभन्दा ठूलो तेल कम्पनी साउदी अरामको प्रमुख कार्यकारी अधिकृत अमिन एच.नासिरले यदि इरान र अमेरिकाबीचको लडाई जारी रह्यो भने यसले विश्वको तेल बजारमा भयावह असर पार्ने बताएका छन् ।
रायटर्सका अनुसार अमिन एच. नासिरले यस युद्धका कारण हालसम्म १८० मिलियन ब्यारेल तेलको आपूर्ति अवरुद्ध भइसकेको छ । यसले विश्वको अर्थतन्त्रमा समेत निकै नकारात्मक प्रभाव पारेको उनको भनाई छ ।
इरानसम्बन्धी युद्धका कारण पछिल्ला दिनहरुमा कच्चा तेलको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । केही दिनअघि कच्चा तेलको भाउ प्रतिब्यारेल १२० डलरसम्म पुगेको थियो, जुन यो तीन वर्षकै उच्च हो ।
तर आजको कारोबारमा भने कच्चा तेलको मूल्यमा करिब १० प्रतिशतसम्म गिरावट आएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र अमेरिकाबीचको युद्ध छिट्टै अन्त्य हुने बताएपछि कच्चा तेलको मूल्यमा आज गिरावट आएको बताइएको छ ।

