काठमाण्डौ । सरकारले सार्वजनिक प्रशासन सुधार तथा स्वास्थ्यकर्मीको कार्य वातावरण सन्तुलन गर्ने उद्देश्यसहित स्वास्थ्य संस्थामा पनि हप्तामा दुई दिन बिदा लागू गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको सूचनाअनुसार अब सरकारी स्वास्थ्य संस्थाहरूमा शनिबार र आइतबार नियमित बिदा रहनेछ। तर आकस्मिक सेवा र भर्ना भएका बिरामीको उपचार भने पहिलेझैं २४ घण्टा निरन्तर सञ्चालन हुने व्यवस्था कायम रहनेछ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा बिदा व्यवस्थालाई बिरामी सेवा अवरुद्ध नहुने गरी समायोजन गरिएको उल्लेख गरिएको छ। सोअनुसार पहिले निर्धारण गरिएका शल्यक्रिया तथा अन्य नियमित सेवा बिरामीको सहजता हेरी पुनः तालिका गर्न निर्देशन दिइएको छ।
बिदाको अवधिमा सेवा प्रवाहमा कुनै कमी आउन नदिन अस्पतालहरूलाई आवश्यक तयारी गर्न भनिएको छ। उपलब्ध सेवा सम्बन्धी जानकारी वेबसाइट तथा सूचना पाटीमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि अनिवार्य गरिएको छ। साथै, आवश्यक अवस्थामा बिरामीलाई नजिकको उपयुक्त अस्पतालमा सहज रूपमा रेफर गर्ने र एम्बुलेन्स सेवा तयारी अवस्थामा राख्ने निर्देशन मन्त्रालयले दिएको छ।
मन्त्रालयका अनुसार यो निर्णय सरकारी कार्यालयमा लागू गरिएको दुईदिने साप्ताहिक बिदा नीतिसँग मेल खाने गरी कार्यान्वयन गरिएको हो। यसअघि स्वास्थ्य संस्थामा केवल शनिबार मात्र बिदा हुने प्रारम्भिक व्यवस्था गरिएको थियो।

