काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद ब्याज आम्दानीमा सुस्तता छाउदा कम्पनीको नाफा घट्न पुगेको छ ।
समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ८ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । उक्त रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २७.०३ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले १ अर्ब ४८ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।
ब्याज आम्दानीमा आएको संकुचनका कारण कम्पनीको नाफा समेत २८.५३ प्रतिशतले घट्न पुगेको छ । कम्पनीले ६४ करोड ३३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । जबकी कम्पनीले अघिल्लो आवको सोही अवधिसम्म भने ९० करोड रुपैयाँबराबरको खुद नाफा संकलन गरेको थियो ।
कम्पनीको खुद शुल्क तथा कमिशन आम्दानी भने बढेको छ । अघिल्लो आवमा १ करोड ३३ लाख रहेको खुद शुल्क तथा कमिशन आम्दानी बढेर २ करोड २२ लाख पुगेको छ ।
कम्पनीले समीक्षा अवधिसम्ममा ९२ करोड २ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। यो रकम अघिल्लो आवमा भने १ अर्ब २८ करोड रहेको थियो । यस्तै कम्पनीको खुद सञ्चालन आम्दानी १ अर्ब १२ करोड रुपैयाँ रहेको छ ।
कम्पनीको निक्षेप संकलन ७ अर्ब ७८ करोड रुपैयाँबाट बढेर ७ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । यस्तै कर्जा प्रवाह पनि २४ अर्ब ५० करोडबाट बढेर २८ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । कम्पनीको रिजर्भ कोषमा ३ अर्ब ४२ करोड रुपैयाँको सञ्चित छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३.९७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १९०.८४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११५.८४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६७.४४ गुणा,तरलता अनुपात ११०.१० प्रतिशत र इक्युटिमा प्रतिफल ३.३८ प्रतिशत कायम भएको छ ।

