काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले केही स्वार्थ समूहको योजनामा धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग मिलेर एक्कासी परिवर्तन गरेको सर्किट ब्रेकर लगायतका नियमपछि लगानीकर्ता हच्किएका छन् ।
सम्वेदनशील बजारको नियमहरु बिनातयारी स्वार्थ समूहको इशारामा जथाभावी परिवर्तन गर्न थालेपछि र नेप्सेले सेयर कारोबार गर्ने सिस्टम लगायतमै मनपरी गर्न थालेपछि लगानीकर्ता झस्किएको प्रतिक्रिया यो साताको पहिलो दिनको बजारले दिएको छ ।
सोमबार सेयर बजार परिसूचक(नेप्से) १३.१७ अंकले घटेको छ भने हठात परिवर्तन गरिएको नियमहरुको प्रभावमा पर्ख र हेरको रणनीतिमा लगानीकर्ता बस्दा कारोबार रकम पनि ह्वात्तै घटेको छ । सोमबार बजारमा ५ अर्ब ३६ करोड हाराहारीको मात्र सेयर कारोबार भयो । अघिल्लो कारोबार दिन शुक्रबार ७ अर्ब ३९ करोड बढीको कारोबार भएको थियो ।
त्यसको अघिल्लो दिन ९ अर्ब २० करोड र त्यसअघि १० अर्ब २८ करोड बढी कारोबार भएको थियो ।
कारोबार रकम घटेर एकमहिना अगाडिकै अवस्थामा पुगेको छ । जसले बीचमा केही समय उत्साहित भएको बजारको रौनक कम हुँदै गएको देखाउँछ ।
यसरी नेप्से र सेबोनको लगानीकर्ता अत्याउने चलखेल र स्वार्थ समूहसँगको साँठगाँठ, जथाभावी महत्वपूर्ण नियम परिवर्तन, सेयर बजारका लगानीकर्ताहरुमाथि सरकारी अनुसन्धान निकायले बढाएको निगरानी लगायतका कारण बजारको कन्फिडेन्स बिस्तारै कम हुँदै गएको देखिन्छ ।
आज बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६७ प्रतिशतले घटेर ४७३ विन्दुमा झरेको छ। आज नेप्सेमा सूचीकृत ३४९ वटा स्क्रिप्टका १ करोड १६ लाख ५३ हजार ३७० कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब ४३ करोड ४२ लाख रुपैयाँभन्दा बढी पुगेको छ।
कुन समूहमा भयो कतिको थपघट ?
आज कारोबारमा आएका १३ वटा समूहमध्ये एउटा बाहेक अन्य समूहमा रातो पोतियो । आज होटल समूह मात्रै बढ्यो । यो समूह आज १.०१ प्रतिशतले बढ्यो ।
यस्तै आज बैंकिङ, लगानी र उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात ०.८४ प्रतिशतले घटे । विकास बैंक समूह पनि आज ०.१६ प्रतिशत, फाइनान्स ०.७०, हाईड्रो ०.२३, जीवन बीमा ०.६२, लघुवित्त ०.४९, म्युचुअल फण्ड ०.०८, निर्जीवन बमिा ०.११,अन्य ०.४० र व्यापार समूह ०.३३ प्रतिशतले घट्यो ।
सर्वाधिक कारोबार हुने कम्पनी
आज होटल फरेस्ट इनको सर्वाधिक अर्थात ३६ करोड १ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
त्यसैगरी सोलु हाईड्रोको २९ करोड ८१ लाख, नेशनल हाईड्रोको २८ करोड ८८ लाख र आँखुखोला जलसविद्युतको २३ करोड ७० लाख बढीको सेयर कारोबार भयो ।
सर्वाधिक कमाउने र गुमाउने कम्पनी
आज सूर्यकुण्ड हाईड्रो र होटल फरेस्ट इनको सेयरमूल्य सर्वाधिक अर्थात १५ प्रतिशतले बढ्यो । यस्तै पाल्पा सिमेन्टको सेयरमूल्य १४.९९ प्रतिशत, शिखर पावरको १४.९९, झापा इनर्जीको ११.८८ र रिज लाइन हाईड्रोको सेयरमूल्य १०.९९ प्रतिशतले बढ्यो ।
दोल्ती पावरको सेयरमूल्य आज सर्वाधिक अर्थात ५.३५ प्रतिशतले घट्यो ।

