काठमाण्डौ । मलेसियास्थित विश्वकै सबैभन्दा ठूलो कन्डम उत्पादक कम्पनी क्यारेक्सले उत्पादन लागत तीव्र रूपमा बढेपछि आफ्ना उत्पादनको मूल्य ३० प्रतिशत वा त्योभन्दा बढीले बढाउने जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) गोह मिया कियटले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँगको कुराकानीमा यस्तो जानकारी दिएका हुन्।
कम्पनीले वार्षिक रूपमा पाँच अर्बभन्दा बढी कन्डम उत्पादन गर्दै आएको छ र ड्युरेक्स, टोरजान जस्ता प्रमुख ब्रान्ड तथा बेलायतको नेशनल हेल्थ सर्भिस जस्ता सार्वजनिक स्वास्थ्य प्रणालीलाई आपूर्ति गर्दै आएको छ।
इरानले अमेरिकी र इजरायली हवाई आक्रमणपछि स्ट्रेट अफ हर्मुजमा जहाज लक्षित गर्ने चेतावनी दिएपछि विश्व ऊर्जा आपूर्ति श्रृंखला गम्भीर रूपमा प्रभावित भएको छ। उक्त जलमार्गबाट विश्वको करिब पाँचौ भाग कच्चा तेल र एलएनजी ग्यास ओसारपसार हुने गर्दछ।
यस अवरोधका कारण तेलमा आधारित कच्चा पदार्थ—जस्तै अमोनिया र सिलिकन–आधारित स्नेहक—को लागत बढेको कम्पनीले जनाएको छ। साथै, ढुवानी खर्च वृद्धि र आपूर्ति ढिलाइका कारण बजारमा कन्डमको अभावसमेत देखिन थालेको छ।
कम्पनीका अनुसार चालु वर्षमा कन्डमको माग करिब ३० प्रतिशतले बढेको छ। आर्थिक अनिश्चितता बढ्दा परिवार नियोजनतर्फ झुकाव बढ्ने भएकाले माग वृद्धि भएको विश्लेषण गरिएको छ।
इरानसँगको द्वन्द्वका कारण विश्व बजारमा ऊर्जा मात्र नभई अन्य उपभोग्य वस्तुको मूल्यसमेत बढ्दै गएको छ। हवाई भाडादेखि मल, हेलियम, बोतलबन्द पानी तथा खाद्य वस्तुहरूमा समेत मूल्यवृद्धि देखिएको छ। संयुक्त राष्ट्रसंघले समेत ढुवानी लागत बढेका कारण चिनी, दुग्धजन्य पदार्थ र फलफूलको मूल्य बढ्ने चेतावनी दिएको छ।
यसबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच जारी वार्तालाई समय दिन युद्धविराम थप्ने संकेत दिएका छन्, यद्यपि शान्ति वार्ताको भविष्य अझै अनिश्चित रहेको बताइएको छ।

