काठमाण्डौ । काठमाण्डौ जिल्ला अदालतले सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा अनुसन्धानको प्रयोजनका लागि व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले दिपक भट्ट र सुलभ अग्रवालसहितका आरोपितहरूलाई थप अनुसन्धानका लागि म्याद थप गर्ने आदेश दिएको हो।
आदेश अनुसार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान लगभग अन्तिम चरणमा पुगेको भए पनि बीमा ऐन र धितोपत्र ऐनसँग सम्बन्धित थप विषयहरूमा विस्तृत अनुसन्धान गर्नुपर्ने तथा अन्तिम राय प्रतिवेदन तयार गरी अभियोगपत्र दायर गर्न समय आवश्यक रहेको भन्दै म्याद थपको माग गरेको थियो।
सोही आधारमा अदालतले सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ को दफा १७(४) बमोजिम वैशाख ९ गतेदेखि लागू हुने गरी ७ दिनको म्याद थप अनुमति दिएको हो।
व्यवसायी भट्टलाई गत चैत १९ गते र शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई चैत २२ गते पक्राउ परेका थिए ।

