काठमाण्डौ । भारतले आफ्नो बन्दरगाहमा आउने जहाजहरूलाई समुद्री बीमा उपलब्ध गराउन अनुमति पाएका रुसी बीमा कम्पनीहरूको संख्या ८ बाट बढाएर ११ पुर्याएको छ। यो जानकारी भारतको डाइरोटेक्रेट जनरल अफ सिपिङको हवाला दिँदै रोयटर्सले जनाएको हो।
नयाँ स्वीकृति प्राप्त कम्पनीहरूमा गाजप्रोम इन्स्योरेन्स र रोसगोस्ट्राक इन्स्योरेन्स समावेश छन्। यी कम्पनीहरूले अब प्रोटेक्सन एण्ड इन्डेम्निटी(पी एण्ड आई) बीमा प्रदान गर्न सक्नेछन्, जसको अनुमति १९ फेब्रुअरी २०२७ सम्म मान्य रहनेछ।
त्यस्तै, ब्यालेन्स इन्स्योरेन्सको दर्ता १९ अगस्ट २०२६ सम्म वैध रहनेछ।
भारतले पहिले नै अनुमति दिएका चार कम्पनीहरूको समयावधि पनि विस्तार गरेको छ। यी कम्पनीहरूले अब २० फेब्रुअरी २०२७ सम्म पी एण्ड आई बीमा सेवा प्रदान गर्न पाउनेछन्।
पी एण्ड आई बीमा समुद्री व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ। यसले जहाज सञ्चालनसँग सम्बन्धित दायित्वहरू—जस्तै वातावरणीय क्षति, चालक दलको चोटपटक, तथा अन्य जोखिमहरूलाई कभर गर्छ।
भारत विश्वकै तेस्रो ठूलो तेल आयातकर्ता तथा उपभोक्ता राष्ट्र हो। हाल उसले आफ्नो ऊर्जा आवश्यकताका लागि रुसी कच्चा तेलमा ठूलो निर्भरता कायम राखिरहेको छ।

