काठमाण्डौ । आज सेयरबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.६० प्रतिशत अर्थात् १७.०१ अंकले घटेर २ हजार ७८७.१५ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६२ प्रतिशतले घटेर ४६८.२७ विन्दुमा झरेको छ।
आज नेप्सेमा सूचीकृत ३४८ वटा स्क्रिप्टका १ करोड १३ लाख ७५ हजार ६६९ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब ९ करोड ५७ लाख रुपैयाँभन्दा बढी पुगेको छ। अघिल्लो दिन भने ७ अर्ब ८१ करोड बढीको सेयर कारोबार भएको थियो ।
आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार भन्छन्, ‘आज बजार बढ्ने तरखरमा नै थियो तर नेपाली केही मिडियाहरुले भ्रामक वा मिथ्या सूचना प्रवाह गर्दा बजार बढ्न सकेन । नेपाली पूँजीबजारले लय लिन नसक्नुको मुख्य कारणहरुमा नेपाली मिडिया हाउसहरुको मनलाग्दी वा तथ्यहिन समाचार वा सूचना प्रकाशन÷प्रसारण हुनु पनि एक हो ।
उनले थपे, ‘आज एउटा मिडियाले व्यवसायी शेखर गोल्छा पक्राउ भनेर समाचार छाप्यो त्यहि विषयले बजारमा प्रभाव पार्न गयो तर यो समाचारमा सत्यता थिएन पछि फेरी त्यहि मिडियाले माफी पनि मागेको छ । यसरी पूँजीबजारलाई प्रभावित पार्ने खालका समाचारहरुले गर्दा पनि बजारमा स्वच्छता हराउँदै गएको छ । देशको अर्थतन्त्र सुधारका लागि नेपाली मिडियाहरु पनि जिम्मेवारी हुनुपर्छ । साथै पछिल्लो समय रास्वपा सरकारले जति पूँजीबजारको लागि विगुल फुकेको छ, त्यहि अनुरुप कार्य गर्ने कुनै छाँछकाँट देखाएको छैन । सेयर लगानीकर्ताहरु सेबोन, राष्ट्र बैंक र सीडीएससीले के गर्ला भन्ने मात्रै प्रतिक्षामा छन् । बजारमा अझैपनि अन्योलता कायम छ । सरकारले बनाएको नीति मात्रै कार्यान्वयन हुन सकेमा बजारले आफैं सुधारको मार्ग तय गर्नेछ ।’
कुन समूहमा भयो कतिको थपघट ?
आज कारोबारमा आएका १३ वटा समूहमध्ये तीनवटा बाहेक अन्य सबै समूहमा रातो पोतियो । आज उत्पादन तथा प्रशोधन समूह ०.६०, व्यापार ०.४३ र म्युचुअल फण्ड ०.०५ प्रतिशतले बढ्यो ।
यस्तै आज होटल समूह सर्वाधिक अर्थात १.४२ प्रतिशतले्् ओरालो लाग्यो । बैंकिङ समूह पनि आज ०.७७ प्रतिशत, विकास बैंक ०.०८, फाइनान्स १.०६, हाईड्रो १.०५, लगानी ०.५३, जीवन बीमा ०.४३, लघुवित्त ०.५३,निर्जीवन बीमा १.१९ र अन्य समूह ०.८५ प्रतिशतले घट्यो ।
सर्वाधिक कारोबार हुने कम्पनी
आज रिलायन्स स्पनिङ मिल्सको सर्वाधिक अर्थात ३० करोड ४२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
त्यसैगरी, सोलु हाईड्रोपावरको २६ करोड ७ लाख, आँखुखोला जलविद्युतको २६ करोड ५ लाख, होटल फरेस्ट इनको २२ करोड १५ लाख र नेशनल हाईड्रोपावरको १८ करोड ६६ लाख बढीको सेयर कारोबार भयो ।
सर्वाधिक कमाउने र गुमाउने कम्पनी
आज कारोबारमा आएका कम्पनीहरूमध्ये २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। आज पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।
यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ९.२४ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ५ र आँखुखोला जलविद्युतको सेयरमूल्य २.६१ प्रतिशतले बढ्यो ।
यो दिन यूर्यकुण्ड हाईड्रो इलेक्ट्रिकको सेयरमूल्य सर्वाधिक अर्थात ११.७९ प्रतिशतले घट्यो । सुपरखुदी हाईड्रोको सेयरमूल्य पनि आज ७.१७ प्रतिशत र गणपति लघुवित्तको सेयरमूल्य ६.३८ प्रतिशतले घट्यो ।

