काठमाण्डौं । संगठनात्मक पुनर्संरचना, कार्यविभाजन र आगामी राजनीतिक कार्यदिशाबारे विस्तृत छलफल गर्न नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सोमबारदेखि पार्टी अध्यक्ष केपी ओलीको निवास गुण्डुमा शुरु भएको छ ।
११ औँ महाधिवेशन सम्पन्न भए पनि केन्द्रीय पदाधिकारी तथा नेताहरूको जिम्मेवारी अझै पूर्ण रूपमा टुंगिन नसकेपछि यस पटकको बैठकलाई संगठनात्मक दृष्टिले महत्वपूर्ण मानिएको छ ।
पार्टीभित्र लामो समयदेखि कार्यविभाजन स्पष्ट नहुँदा कामको दोहोरोपन र समन्वय अभाव देखिएको भन्दै नेतृत्वले त्यसलाई सम्बोधन गर्ने तयारी गरेको नेताहरूले बताएका छन् ।
पार्टी स्रोतका अनुसार बैठकको मुख्य प्रस्तावमध्ये एक केन्द्रीय सदस्यहरूलाई प्रत्यक्ष रूपमा स्थानीय तहसम्म परिचालन गर्ने मोडेल हो ।
त्यसअनुसार प्रत्येक केन्द्रीय सदस्यलाई निश्चित पालिकाको इन्चार्ज तोक्ने तयारी छ, जसले संगठनलाई वडा–टोल तहसम्म सक्रिय बनाउने र आगामी स्थानीय तहका निर्वाचनका लागि तयारी मजबुत बनाउने अपेक्षा गरिएको छ ।
यससँगै केन्द्रीय विभाग, जनसंगठन तथा अन्य संरचनामा रहेका जिम्मेवारीहरूको पुनरावलोकन र पुनर्वितरण पनि बैठकको प्रमुख एजेन्डा बनेको छ ।
नेताहरूका अनुसार हालको संरचनालाई बढी कार्यमुखी र नतिजामुखी बनाउन जिम्मेवारी स्पष्ट गर्ने, निष्क्रिय संरचना पुनर्गठन गर्ने र समन्वय प्रणाली सुधार गर्ने विषयमा छलफल भइरहेको छ ।
बैठकले आगामी फागुनमा सम्पन्न भएको निर्वाचनको समग्र समीक्षा गर्न केन्द्रीय कमिटी बैठक बोलाउने मिति पनि तय गर्ने सम्भावना छ ।
सो समीक्षा बैठकमा निर्वाचन परिणाम, संगठनको कमजोरी, जनसम्पर्क अभियानको प्रभावकारिता तथा आगामी चुनावी रणनीतिबारे विस्तृत विश्लेषण हुने बताइएको छ ।
यसैबीच, बैठकमा सरकारका पछिल्ला नीति तथा निर्णयहरूबारे पनि छलफल हुने भएको छ ।
विशेषगरी सुकुम्बासी बस्ती हटाउने सरकारी अभियान, प्रभावितहरूको व्यवस्थापन, र प्रशासनिक निर्णयहरूको प्रभावबारे पार्टीभित्र धारणा राखिने नेताहरूले बताएका छन् ।
एमाले सचिवालय बैठकलाई संगठन सुदृढीकरण, आन्तरिक कार्यविभाजन स्पष्टता र आगामी निर्वाचनलाई लक्षित राजनीतिक रणनीति तय गर्ने दृष्टिले निर्णायक चरणका रूपमा हेरिएको छ ।

