काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ ।
याम्बालिङ्ग हाइड्रोपावर र टक्सार पिखुवा खोला हाइड्रोपावरको आइपीओ सूचीकृत भएको हो । याम्बालिङ्गको सेयर ‘वाईएमएचएल’ र टक्सार पिखुवा खोलाको ‘टीपीकेएचएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।
याम्बालिङ्ग हाइड्रोको कुल ७० लाख कित्ता सेयर सूचीकृत भएको हो । जसमा सर्वसाधारणले लगानी गरेको २८ लाख कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको कुल ४२ लाख कित्ता सेयर रहेको छ ।
नेप्सेले कम्पनीको सेयरलाई पहिलो कारोबारको लागि १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ ।
साथै टक्सार पिखुवा खोलाको कुल १ करोड २० लाख कित्ता सेयर सूचीकृत भएको हो । जसमा सर्वसाधारणहरुले लगानी गरेको ४२ लाख ३० हजार ६६८ कित्ता सेयर र संस्थापक सेयरधनीहरुले लगानी गरेको कुल ७७ लाख ६९ हजार ३३२ कित्ता सेयर रहेको छ ।
कम्पनीको सेयरलाई पहिलो कारोबारको लागि नेप्सेले न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज तोकेको छ ।
यी दुवै कम्पनीको सेयर सोमबारदेखि दोस्रो बजारमा कारोबार हुनेछ ।

