काठमाण्डौ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ मा पाराग्वेले साहसिक प्रदर्शन गर्दै टर्कीलाई १–० ले पराजित गरेको छ।
१० खेलाडीमा सीमित भएर अधिकांश समय खेले पनि पाराग्वेले महत्वपूर्ण जीत निकाल्दै नकआउट चरणको आशा जीवित राखेको छ भने टर्की लगातार दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ।
शनिबार बिहान सम्पन्न खेलमा पाराग्वेले शुरुवातमै गोल गर्दै अग्रता लिएको थियो।
खेल शुरु भएको मात्र ६४ सेकेन्डमा मिडफिल्डर मातियास गालार्साले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएपछि पाराग्वेले विश्वकपको हालसम्मकै सबैभन्दा छिटो गोलमध्ये एक गर्दै खेलमा पकड बनाएको थियो।
खेलको पहिलो हाफ पाराग्वेका लागि सकारात्मक देखिए पनि इन्जुरी समयतिर टोली ठूलो झट्कामा पर्यो।
पाराग्वेका अनुभवी खेलाडी मिगुएल अल्मिरोन र टर्कीका डिफेन्डर मर्ट मुल्दुरबीच मैदानमा विवाद भएपछि भिएआरमार्फत घटनाको समीक्षा गरिएको थियो।
समीक्षा पश्चात् रेफ्री इभान बार्टनले अल्मिरोनलाई रातो कार्ड देखाए।
मुख छोपेर अपमानजनक अभिव्यक्ति दिएको आरोपमा उनी विश्वकपमा नयाँ नियमअन्तर्गत रातो कार्ड पाउने पहिलो खेलाडी बने।
अल्मिरोनको बहिर्गमनपछि दोस्रो हाफभर पाराग्वे रक्षात्मक रणनीतिमा केन्द्रित रह्यो।
एक खेलाडी कम हुँदा पनि टोलीले अनुशासित प्रदर्शन गर्दै टर्कीका आक्रमणहरू विफल बनायो।
टर्कीले खेलभर बल नियन्त्रण र आक्रमणमा वर्चस्व कायम राखे पनि अवसरलाई गोलमा परिणत गर्न सकेन।
पहिलो हाफमा मात्र १२ प्रहार गरेको टर्कीले समग्र खेलमा ३० भन्दा बढी प्रहार गरेपनि पाराग्वेको रक्षापंक्ति र गोलरक्षकलाई पार गर्न असफल रह्यो।
मर्ट मुल्दुरको हेडर पोस्ट र क्रसबारमा लागेर फर्किनु टर्कीका लागि दुर्भाग्यपूर्ण क्षण बन्यो।
दुवै टोली पहिलो खेलमा पराजित भएर दबाबमा मैदान उत्रिएका थिए।
पाराग्वे आयोजक अमेरिका विरुद्ध ४–१ ले पराजित भएको थियो भने टर्की अष्ट्रेलियासँग २–० ले हारेको थियो। त्यसैले यो खेल दुवै टोलीका लागि ‘गर या मर’ को अवस्थामा थियो।
जितसँगै पाराग्वेले समूह ‘डी’ मा नकआउट चरण पुग्ने सम्भावना कायम राखेको छ।
अब समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियाविरुद्ध जीत निकाल्न सके पाराग्वे अन्तिम ३२ मा पुग्न सफल हुनेछ।
अर्कोतर्फ लगातार दोस्रो हार बेहोरेको टर्की भने एक खेल बाँकी रहँदै विश्वकपबाट बाहिरिएको छ।
समूह ‘डी’ को अन्तिम खेल अब पाराग्वे र अष्ट्रेलियाबीच निर्णायक बन्ने भएको छ, जहाँ विजेताले नकआउट चरणमा स्थान बनाउने प्रबल सम्भावना रहनेछ।

