काठमाण्डौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयलाई आफूले अघि बढाएको वैकल्पिक राजनीतिक अभियानको एउटा महत्वपूर्ण उपलब्धिका रूपमा लिएको बताएका छन्।
उनले रास्वपाको सफलताले देशको राजनीतिक परिदृश्यमा नयाँ सम्भावनाहरू देखाएको टिप्पणी गरेका छन्।
चितवनको भरतपुरमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै भट्टराईले आफू कुनै पनि आकर्षण वा प्रलोभनमा नपरेको स्पष्ट पारे।
उनले आफ्नो राजनीतिक यात्रा लामो र अनुभवसम्पन्न रहेको उल्लेख गर्दै व्यक्तिगत स्वार्थ वा “ललिपप” जस्ता आरोपहरू निराधार रहेको बताए।
उनले समाजमा वैकल्पिक राजनीतिक शक्तिप्रति देखिने प्रतिक्रियाबारे टिप्पणी गर्दै भने, “हाम्रो समाजमा चेतनाको स्तर अझै कमजोर छ।
रास्वपाले केही ललिपप देखायो भन्ने किसिमका टिप्पणीहरू सुनिन्छन्। तर म जीवनभर संघर्ष गरेको व्यक्ति हुँ, अब के ललिपपको पछाडि लाग्छु र ?”
भट्टराईले आफूले पहिले नै प्रधानमन्त्रीको जिम्मेवारी पूरा गरिसकेको र व्यक्तिगत रूपमा कुनै लोभ–लालच बाँकी नरहेको पनि उल्लेख गरे।
उनले आफ्नो लक्ष्य सधैं सुशासन, समृद्धि र जनताको जीवनस्तर सुधार गर्ने रहेको बताए।
उनका अनुसार नयाँ राजनीतिक शक्ति र वैकल्पिक अभियानको आवश्यकता लामो समयदेखि महसुस हुँदै आएको हो।
पुराना पुस्ताको योगदानको जगमा नयाँ राजनीतिक धार निर्माण हुँदै गएको भन्दै उनले रास्वपालाई त्यसैको निरन्तरता र विकसित रूपका रूपमा व्याख्या गरे।
भट्टराईले रास्वपाको उदयलाई सकारात्मक रूपमा स्वागत गर्दै यसले देशमा सुशासन र परिवर्तनको एजेन्डालाई अझ बलियो बनाउन सक्ने विश्वास व्यक्त गरे।

