काठमाण्डौ । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकमाथिको निगरानी र कारबाहीलाई तीव्र बनाइएको छ।
पछिल्लो २४ घण्टामा मात्रै विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार ६४१ सवारीचालक कारबाहीमा परेका छन्।
उक्त कारबाहीबाट राज्यकोषमा २२ लाख ९६ हजार ५०८ रुपैयाँ राजस्व संकलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ७९ जना चालकलाई कारबाही गरिएको छ।
त्यसैगरी नियमविपरीत राइड सेयरिङ सेवा सञ्चालन गर्ने १४७ जना, ट्राफिक बत्तीको संकेत उल्लङ्घन गर्ने १५४ जना तथा तीव्र गतिमा सवारी चलाउने १२२ जना पनि कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीले लेन अनुशासन पालना नगर्ने ११९ जना चालकलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाही गरेको जनाएको छ।
यस्तै निषेधित क्षेत्रमा अनावश्यक रूपमा हर्न बजाउने ११३ जना, सडकपेटीमा सवारी पार्किङ गर्ने ११९ जना तथा एकतर्फी सडकमा सवारी चलाउने १०० जना चालकलाई समेत जरिवाना गरिएको छ।
यीबाहेक अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ६८८ जना चालकलाई पनि कारबाहीको दायरामा ल्याइएको छ।
ट्राफिक प्रहरीका अनुसार सवारी दुर्घटना न्यूनीकरण, सडक अनुशासन कायम तथा यात्रु र पैदलयात्रीको सुरक्षालाई ध्यानमा राख्दै नियमित रूपमा अनुगमन र चेकजाँच अभियान सञ्चालन भइरहेको छ।
कार्यालयले चालकहरूलाई ट्राफिक नियमको पालना गर्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, निर्धारित लेन र गति सीमा पालन गर्न तथा सार्वजनिक सडकको सुरक्षित प्रयोग गर्न आग्रह गरेको छ।
ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनले दुर्घटना न्यूनीकरण र सुरक्षित यातायात व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

