काठमाण्डौ बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिकाले अत्यधिक गर्मीका कारण विद्यालयहरूमा तीन दिनका लागि बिदा दिने निर्णय गरेको छ। उपमहानगरपालिकाका अनुसार असार १० गते बुधबारदेखि १२ गते शुक्रबारसम्म नगरभित्रका सबै विद्यालय बन्द रहनेछन्। लगातारको अत्यधिक गर्मी र वर्षा नपरेपछि विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्ने जोखिम बढेकाले पठनपाठन स्थगित गरिएको हो।
यसअघि पनि गर्मीका कारण जेठ २६ देखि २९ गतेसम्म विद्यालयहरू बन्द गरिएका थिए। तर वर्षा नएभपछि तापक्रम घट्न नसक्दा पुनः बिदा दिनुपर्ने अवस्था आएको शिक्षा महाशाखाले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागसहित सरोकारवाला निकायको सुझाव तथा अभिभावकहरूको आग्रहलाई ध्यानमा राख्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाइएको छ।

