काठमाण्डौ । पाल्पाको तानसेन नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कृषि उत्पादन वृद्धि, पर्यटन प्रवर्द्धन, सम्पदा संरक्षण र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
१९औँ नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रमले स्थानीय अर्थतन्त्र सुदृढ गर्दै तानसेनलाई समृद्ध, व्यवस्थित र आकर्षक नगरका रूपमा विकास गर्ने लक्ष्य लिएको छ।
नगरको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको जनाएको छ ।
नगरपालिकाले दूध, अण्डा, मासु र तरकारी उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यसहित कृषकलाई विभिन्न अनुदान कार्यक्रमलाई निरन्तरता दिएको छ।
दूध उत्पादक किसानलाई प्रतिलिटर ३ रुपैयाँ अनुदान, बाँझो जमिनमा खेती गर्ने कृषकलाई प्रतिरोपनी ५ हजार रुपैयाँ प्रोत्साहन उपलब्ध गराइनेछ।
कृषि उत्पादनको भण्डारण र बजार व्यवस्थापनलाई सहज बनाउन वडा नम्बर ७ मा शीतभण्डार सञ्चालन गर्ने तथा वडा नम्बर ५ मा अदुवाको बीउ भण्डारण गर्ने कृषकलाई प्रतिकिलो ५ रुपैयाँ अनुदान दिने व्यवस्था गरिएको छ।
साथै, हेफर प्रोजेक्ट नेपालको सहकार्यमा आर्थिक विकाससम्बन्धी परियोजना सञ्चालन गरिनेछ।
पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले पाल्पाका ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रचारप्रसारमा जोड दिएको छ।
रानीमहल, श्रीनगर, पाल्पा दरबार क्षेत्र, रुरु क्षेत्र तथा रणउजिरेश्वरी भगवती मन्दिरलगायतका सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने योजना अघि सारिएको छ।
स्थानीय जात्रा तथा सांस्कृतिक परम्पराको संरक्षण गर्दै मौलिक वास्तुकलामा आधारित घर निर्माणलाई पनि प्रोत्साहन गरिने भएको छ।
पर्यटकीय पूर्वाधार विस्तारका लागि तीनमुखे पुल क्षेत्रमा प्रकाश तथा सौन्दर्यकरणको काम गरिनेछ भने कमलपोखरी, सूर्यकुण्ड र अर्गली–कुडापानी क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पहल गरिने जनाइएको छ।
युवालाई सीप र रोजगारीसँग जोड्न विभिन्न प्राविधिक तालिम सञ्चालन गरिनेछ। कुक, प्लम्बिङ, इलेक्ट्रिसियन तथा कम्प्युटर हार्डवेयर तथा नेटवर्किङलगायतका तालिममार्फत उद्यमशीलता विकासमा जोड दिइनेछ।
विद्यालय तहमा प्राविधिक शिक्षा र “पढ्दै कमाउँदै” कार्यक्रमलाई पनि निरन्तरता दिइने भएको छ।
स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न समुदायस्तरमा स्वास्थ्य प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ।
नसर्ने रोगको परीक्षण, पूर्ण खोप सुनिश्चितता, कुपोषण न्यूनीकरण तथा एचआईभी संक्रमितलाई औषधि उपचार सहयोग उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइनेछ।
प्रत्येक वडामा हरित पार्क र खुला व्यायामशाला निर्माण गरी स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।
पूर्वाधार विकासतर्फ वनदेवी बसपार्क निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ।
भवन निर्माण स्वीकृति प्रक्रियालाई प्रविधिमैत्री बनाउन विद्युतीय प्रणाली लागू गरिनेछ भने बजार क्षेत्रको व्यवस्थापन र पार्किङ व्यवस्थालाई थप व्यवस्थित बनाइनेछ।
“एक घर, एक धारा” अभियानमार्फत स्वच्छ खानेपानीको पहुँच विस्तार गरिने र फोहोर व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाइने नीति लिइएको छ।
सुशासन प्रवर्द्धनका लागि नगरपालिकाले जनप्रतिनिधिलाई नागरिकसँग प्रत्यक्ष जोड्ने कार्यक्रम सञ्चालन गर्ने तथा राजस्व संकलन र सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत थप प्रभावकारी बनाउने जनाएको छ।
नीति तथा कार्यक्रम कार्यान्वयनका लागि संघीय र प्रदेश सरकारसँगै विभिन्न विकास साझेदार संस्थासँग सहकार्य गरिने नगरपालिकाले जनाएको छ।

