काठमाण्डौ । अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातको भाडा २ प्रतिशतले घटाइएको छ। इन्धनको मूल्यमा आएको गिरावटलाई आधार मानेर यातायात व्यवस्था विभागले नयाँ भाडादर लागू गरेको हो।
विभागले सूचना जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य समायोजनपछि प्रचलित भाडादर पुनरावलोकन गरिएको जनाएको छ। सोहीअनुसार अन्तरप्रदेश सार्वजनिक सवारीसाधनमा लागू हुने यात्रु भाडा औसत २ प्रतिशतले घटाइएको हो। विभागका अनुसार नयाँ भाडादर तत्काल लागू हुनेछ। यात्रुलाई नयाँ दरअनुसार नै भाडा लिन तथा यातायात व्यवसायीलाई संशोधित दर कार्यान्वयन गर्न निर्देशन समेत दिइएको छ।
सरकारले इन्धनको मूल्य घटाएसँगै सार्वजनिक यातायातको भाडा पनि समायोजन गरेको हो। यसबाट विशेषगरी नियमित रूपमा लामो दूरी यात्रा गर्ने यात्रुलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।

