काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा आफ्नो औपचारिक धारणा आज सार्वजनिक गर्ने भएको छ ।
कांग्रेस सभापति गगनकुमार थापाले ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ सार्वजनिक गर्न लागेका हुन् । त्यसका लागि आज दिउँसो ३ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गरिएको छ ।
संविधान संशोधनका विषयमा अध्ययन गरी सुझाव पेस गर्न कांग्रेसले उपसभापति पुष्पा भुसालको संयोजकत्वमा विज्ञ समिति गठन गरेको थियो । समितिमा वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरू सदस्य रहेका छन् ।
समितिमा वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खड्का, उपेन्द्रकेशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सीताराम केसी, ललितकुमार बस्नेत तथा अधिवक्ताहरू रनबहादुर थेवे, शर्मिला श्रेष्ठ र झलमाया विक सदस्य छन् । अधिवक्ता राजु कटुवाल सदस्य सचिव छन् ।
सोही समितिले तयार पारेको सुझावका आधारमा कांग्रेसले संविधान संशोधनबारे आफ्नो दृष्टिकोण सार्वजनिक गर्न लागेको हो ।
संविधान संशोधनका विषयमा प्रमुख राजनीतिक दलहरूबीच मतभिन्नता देखिइरहेका बेला कांग्रेसले आफ्नो औपचारिक धारणा सार्वजनिक गर्न लागेको हो ।
यसअघि संविधान संशोधनको बहस र प्रक्रिया अघि बढाउने उद्देश्यले गठन गरिएको ‘संविधान संशोधन बहसपत्र कार्यदल’ बाट नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, जसपा, लोसपा र राजमो बाहिरिएका थिए ।
प्रमुख दलहरूको बहिर्गमनपछि संविधान संशोधनको विषय थप पेचिलो बनेको अवस्थामा प्रमुख प्रतिपक्षी दल कांग्रेसले सार्वजनिक गर्न लागेको दृष्टिकोणलाई राजनीतिक रूपमा चासोका साथ हेरिएको छ ।

