शुक्रबार, श्रावण १,२०८३ 08:06:57
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 08:06:57
Bizshala
Global IME Bank Limited

जयवीर देउवा आबद्ध कम्पनीमा आएको २ करोड ६० लाख शंकास्पद, सम्पत्ति शुद्धीकरण विभागले थाल्यो अनुसन्धान

जयवीर देउवा आबद्ध कम्पनीमा आएको २ करोड ६० लाख शंकास्पद, सम्पत्ति शुद्धीकरण विभागले थाल्यो अनुसन्धान
New Office

 

काठमाण्डौ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवा आबद्ध दुई कम्पनीमा भएको भनिएको २ करोड ६० लाख रुपैयाँको कारोबारमाथि अनुसन्धान अघि बढाएको छ।

पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलसहित १६ जनाविरुद्ध विशेष अदालतमा दायर गरिएको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको आरोपपत्रमा विभागले जयवीर आबद्ध कम्पनीहरूको कारोबारसमेत अनुसन्धानको दायरामा रहेको उल्लेख गरेको हो।

विभागका अनुसार जयवीरको लगानी रहेको भनिएका डिजी हब प्रालि र स्कलर इन्टरनेशनल प्रालिमा हिमालयन एसेट्स म्यानेजमेन्ट प्रालिबाट कुल २ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको देखिएको छ। उक्त रकमको स्रोत र कारोबारको उद्देश्य शंकास्पद देखिएको भन्दै विभागले थप छानबिन आवश्यक रहेको जनाएको छ।

हिमालयन एसेट्स म्यानेजमेन्ट व्यवसायी दीपक भट्टको पूर्ण नियन्त्रणमा रहेको कम्पनी भएको विभागको दाबी छ। विभागले विशेष अदालतमा बुझाएको आरोपपत्रमा उक्त रकम कसुरबाट प्राप्त भएको हुनसक्ने आशंका देखिएकाले अनुसन्धानलाई निरन्तरता दिइने उल्लेख गरेको छ।

आरोपपत्रमा भनिएको छ, “कसुरबाट रकम प्राप्त गरेको हुनसक्ने देखिँदा सोतर्फको अनुसन्धानलाई निरन्तरता दिई कानुनबमोजिम गरिनेछ।”

यसअघि असार २३ गते विभागले जयवीरलाई अनुसन्धानका क्रममा केही विषय बुझ्नुपर्ने भन्दै सात दिनभित्र उपस्थित हुन सूचना जारी गरेको थियो। अनुसन्धान अधिकृतहरूको टोलीले बूढानीलकण्ठस्थित देउवा निवासमा म्यादको सूचना टाँसेको थियो भने त्यसको भोलिपल्ट गोरखापत्र दैनिकमार्फत पनि सूचना प्रकाशित गरिएको थियो।

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ४१ अनुसार अनुसन्धानका क्रममा सम्पर्कमा नआएका व्यक्तिलाई बढीमा ३० दिनसम्मको अवधि तोकेर सार्वजनिक सूचना जारी गर्न सकिने व्यवस्था छ।

विभागले हाल कारोबारको स्रोत, कम्पनीहरूबीचको व्यावसायिक सम्बन्ध र रकम स्थानान्तरणको प्रयोजनबारे अनुसन्धान भइरहेको जनाएको छ। अनुसन्धान पूरा नभएसम्म जयवीर वा सम्बन्धित कम्पनीमाथि कसुर प्रमाणित भएको मानिने छैन।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.