शुक्रबार, श्रावण १,२०८३ 08:06:57
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 08:06:57
Bizshala
Global IME Bank Limited

कोलकाता–विराटनगर कार्गो रेल सेवा सुरु, एकैपटक ४५ कन्टेनर ढुवानी गर्न सकिने

कोलकाता–विराटनगर कार्गो रेल सेवा सुरु, एकैपटक ४५ कन्टेनर ढुवानी गर्न सकिने
New Office

 

काठमाण्डौ । तेस्रो मुलुकबाट आयात हुने मालसामान कोलकाता र हल्दिया बन्दरगाहबाट रेलमार्फत सिधै विराटनगरसम्म ढुवानी गर्ने कार्गो सेवा औपचारिक रूपमा सुरु भएको छ।

कोलकातास्थित नेपाली महावाणिज्य दूत झक्कप्रसाद आचार्यसहित कोलकाता भन्सार, कोलकाता बन्दरगाह र भारतीय कन्टेनर निगम लिमिटेडका अधिकारीहरूले हरियो झण्डा देखाएर शुक्रबार पहिलो कार्गो रेलको शुभारम्भ गरेका हुन्।

पहिलो रेलमा स्वस्तिक आयल इन्डस्ट्रिजले तेस्रो मुलुकबाट आयात गरेको कच्चा पदार्थ राखिएका ४० फिट क्षमताका ४० वटा कन्टेनर विराटनगर पठाइएको नेपाली महावाणिज्य दूतावासले जनाएको छ। ती कन्टेनरमा विद्युतीय कार्गो ट्र्याकिङ प्रणाली जडान गरिएको छ।

नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत नेपालले तेस्रो मुलुकसँगको आयात–निर्यातका लागि भारतीय सडक, रेल तथा जलमार्ग प्रयोग गर्न पाउने व्यवस्था छ। यसअघि रेलमार्फत आयात हुने कन्टेनर वीरगन्जसम्म मात्रै ल्याउन सकिन्थ्यो। नयाँ सेवा सुरु भएसँगै अब जोगबनीस्थित भारतीय भन्सार यार्ड हुँदै विराटनगर भन्सार यार्डसम्म कार्गो रेल सञ्चालन हुने भएको हो।

भारत सरकारको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्डले ४ नोभेम्बर २०२५ मा विद्युतीय कार्गो ट्र्याकिङ प्रणाली नियमावली संशोधन गर्दै कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट विराटनगर भन्सारसम्म रेलमार्फत कार्गो ढुवानी गर्न सकिने व्यवस्था गरेको थियो।

त्यसपछि कोलकाता भन्सारले २६ फेब्रुअरी २०२६ मा सूचना जारी गर्दै कोलकाता र हल्दियाबाट वीरगन्जका अतिरिक्त जोगबनी हुँदै विराटनगरसम्म रेलबाट मालसामान ढुवानी गर्ने प्रक्रियागत व्यवस्था मिलाएको थियो।

उक्त निर्णय कार्यान्वयनका लागि नेपाली महावाणिज्य दूतावासले भारतीय भन्सार, बन्दरगाह, सिपिङ कम्पनी तथा भारतीय कन्टेनर निगमसँग निरन्तर समन्वय गरेको जनाएको छ।

कार्गो रेल सेवा पूर्ण क्षमतामा सञ्चालन भएपछि एकैपटक ४० फिटका ४५ वटासम्म कन्टेनर विराटनगर पठाउन सकिनेछ। सडक यातायातको तुलनामा रेलमार्फत हुने ढुवानी सुरक्षित, भरपर्दो, छिटो र कम लागतको हुने अपेक्षा गरिएको छ।

यस सेवाले विशेषगरी पूर्वी नेपालका उद्योग तथा व्यवसायीलाई कच्चा पदार्थ र अन्य वस्तु आयात गर्न लाग्ने समय र ढुवानी खर्च घटाउने विश्वास गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.