बंगलादेश । शेख हसिनाले प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि बजार पुनरुत्थान हुने आशामा बंगलादेशको सेयर बजारले मंगलबार गतिलो बाउन्सब्याक गरेको छ ।
ढाका स्टक एक्सचेन्ज (डिएसई)को प्रमुख परिसूचक डिसेक्स १९७ अंक अर्थात ३.७७ प्रतिशतले बढेर साढे ३ वर्षयताकै सबैभन्दा माथि ५४२६ मा पुगेको छ ।
विद्यार्थीको सरकारी जागिरको कोटा सुधार आन्दोलनलाई केन्द्रमा राखेर तीन सयभन्दा बढीको हत्या, हजारौंको गिरफ्तारीको विरोधका बीच अवामी लिग नेतृत्वको सरकार ढलेपछि मंगलबार कारोबारको पहिलो दिन थियो ।
ब्लूचिप स्टकहरूको प्रतिनिधित्व गर्ने डिए थर्टी ७५ अंक वा ४ प्रतिशतले बढेर १९३४ विन्दूमा पुगेको छ भने डिसेज शरियामा आधारित आधारित सूचकांक ३२ अंक वा २.८६ प्रतिशतले बढेर ११७६ को उचाईमा पुगेको छ ।
‘शेख हसिनाले राजीनामा दिएपछि बजारमा सुशासन फर्किनेमा लगानीकर्ताहरू आशावादी छन्,’ नाम नखुलाउन खोज्दै प्रमुख स्टक ब्रोकरेज फर्मका एक मध्यस्तरका अधिकारीले दि डेली स्टारलाई भने।
त्यसैले, उनीहरूले स्टक किनेका थिए, जसको मूल्य धेरै वर्षदेखि न्यून थियो। आशावादको बीचमा पनि व्यापारमा जनताको सहभागिता बढेको उनको भनाई छ ।
बजारमा तरलता प्रवाहलाई सङ्केत गर्ने कारोबार अघिल्लो दिनको तुलनामा आज २६२ प्रतिशतले बढेर ७५० करोड रुपैयाँ पुगेको छ ।
कारोवार भएका मध्ये ३२८ वटा बढेको, ६० वटा घटेको र ९ वटा स्थिर रहेको छ ।
चितगाँव स्टक एक्सचेन्ज पनि उकालो लागेको छ ।
बन्दरगाह सहर बजारको व्यापक परिसूचक क्यास्पी ४६७ अंक वा ३ प्रतिशतले बढेर १५ हजार ३९३ मा पुगेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                