काठमाण्डौ । राजधानी त्रिपोलीमा एक वरिष्ठ कर्मचारी अपहरण भएपछि लिबियाको केन्द्रीय बैंकले आफ्ना सबै कामहरू स्थगित गरेको घोषणा गरेको छ ।
बैंकले आइतबार एक विज्ञप्ति जारी गर्दै सूचना प्रविधि निर्देशक मुसाब मुसालेमको अपहरण भएकाले बैंकका सबै काम स्थगित गरेको घोषणा गरेको हो । यसका साथै बैंकले उक्त अपहरणको निन्दा समेत गरेको छ।
मुसालेमलाई आइतबार बिहान अपरिचित समूहले उनको घरबाट लगेको र अन्य कर्मचारीहरूलाई अपहरणको धम्की दिइएको जनाइएको छ। केन्द्रीय बैंकले मुसालेमलाई रिहा नगरेसम्म कामहरू सुचारु नहुने लिबियाको केन्द्रीय बैंकले जनाएको छ ।
लिबिया राज्यको स्वामित्वकोे स्वतन्त्र संस्थाको रुपमा रहेको लिबिया केन्दूीय बैंक लिबियाको तेल राजस्वको लागि एक मात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त डिपोजिटरी संस्था हो । तेल आम्दानीका लागि त्रिपोली र बेनघाजीमा दुई प्रतिद्वन्द्वी सरकारहरुबीच वर्षौंदेखि संघर्ष चल्दै आईरहेको छ ।
एएफपी समाचार एजेन्सीका अनुसार केन्द्रीय बैंकलाई हतियारधारीहरूले घेराबन्दी गरेको एक हप्तापछि यो घटना सार्वजनिक भएको हो । एएफपीका अनुसार हतियारधारीहरूले बैंकका गभर्नर सेद्दिक अल–कबिरलाई जबरजस्ती राजीनामा दिनको लागि अपहरण गरेका हुन्।
२०१२ देखि पदमा रहँदा कबीरले तेल स्रोतको व्यवस्थापन र राज्यको बजेटलाई लिएर आलोचनाको सामना गर्नु परेको छ। सन् २०११ मा लिबियाका नेता मुअम्मर गद्दाफीलाई अपदस्थ गरी हत्या गरेपछि देश लामो समयदेखि असुरक्षाको चपेटामा परेको छ।
लिबिया शक्ति संघर्षले विभाजित भएको छ र हाल यहाँ दुईवटा सरकारहरू छन् । एउटा संयुक्त राष्ट्रले मान्यता प्राप्त एउटा त्रिपोलीमा आधारित छ भने अर्को देशको पूर्वमा रहेको छ , जसलाई विद्रोही नाइके जनरल खलिफा हफ्तारको समर्थन छ।

                
                
                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                