काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा मिथेन ग्यास भण्डारण फेला परेकोमा खुसी व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत भूमिगत ग्यासको स्रोत फेला परेकामा खुसी व्यक्त गरेका हुनु ।
प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु । समर्थन र विरोधका आवाज थरिथरिका थिए। ११२ अर्ब घनमिटर ग्यास रहेको खबरले ती दिनलाई सम्झाएको छ। यो खुसीको समाचार हो।’
चीन सरकारको सहयोगमा दैलेखको जलजलेमा सुरु गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणको प्रारम्भिक नतिजामा यस क्षेत्रमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यास भएको तथ्य हालै सार्वजनिक भएको थियो ।
दैलेखको जलजलेमा २०८० वैशाख २८ गतेदेखि चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले ड्रिलिङ गरेर अध्ययन सुरु गरेका थिए ।
नेपाल सरकार र चीन सरकारसँग २०७५ सालमा भएको जिटुजी सम्झौताअनुसार चीन सरकारको करिब २ अर्ब ५० करोड अनुदान लागतमा अध्ययनको काम भएको थियो ।
सन् २०१६ को मार्चमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दैलेखसहितका स्थानमा पेट्रोलियम पदार्थको अन्वेषण गर्ने सहमति भएको थियो।