काठमाण्डौं । वीरगञ्ज भन्सार कार्यालयले लगातार तीन दिनसम्म उद्यमी र व्यवसायीहरूको भन्सार जाँचपास प्रक्रिया रोकिए तापनि, पेट्रोलियम पदार्थ र अन्य सामग्रीहरूको भन्सार जाँचपास गरेर तीन दिनमा तीन अर्ब १५ करोड रुपैयाँको राजस्व सङ्कलन गरेको छ।
सूचना अधिकारी उदयसिंह विष्टका अनुसार, वैशाख १५ गतेदेखि आयात र निर्यातकर्ताहरू भन्सार जाँचपास प्रक्रियामा सहभागी नभए तापनि पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र तरकारी तथा फलफूलजन्य वस्तुहरूको भन्सार जाँचपास गरेर उक्त राजस्व सङ्कलन भएको हो।
भन्सार कार्यालयका अनुसार वैशाख १५ गते मात्र ३५ करोड रुपैयाँको राजस्व सङ्कलन भएको थियो, जबकि वैशाख १६ गते १ अर्ब ९० करोड र वैशाख १७ गते ९० करोड रुपैयाँको राजस्व सङ्कलन भएको जानकारी प्राप्त भएको छ।
पेट्रोलियम पदार्थको भन्सार जाँचपास भएको कारण पनि यस्तो उच्च राजस्व सङ्कलन भएको हो, विष्टले भने ।
तर, आयातकर्ताहरू र स्वदेशी उद्यमीहरूले चौथो दिनसम्म पनि भन्सार जाँचपास प्रक्रियामा भाग लिएको छैन।
यसले गर्दा आयातकर्ताले फाराम भर्नेदेखि घोषणा गर्ने प्रक्रिया पूरा नगरेपछि भन्सार जाँचपास रोकिएको हो।
सरकारको निर्णयअनुसार, अब सबै प्रकारका उत्पादनमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) लागू गर्नुपर्ने व्यवस्था गरिएको छ।
वीरगञ्ज भन्सार कार्यालयले सामान्यतस् दैनिक ५० देखि ६० करोडसम्म राजस्व सङ्कलन गर्दै आएको छ।

