काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्की शान्ति सम्झौताको एक हिस्साको रूपमा क्रिमियालाई रुसलाई सुम्पन तयार भएको बताएका छन् ।
रुसले सन् २०१४ मा अवैध रूपमा कब्जा गरेको दक्षिणी प्रायद्वीपको नियन्त्रण छोड्न युक्रेनी राष्ट्रपति तयार छन् कि छैनन् भन्ने प्रश्नको जवाफ दिदै ट्रम्पले यस्तो बताएका हुन् ।
ट्रम्पले भने, ‘युक्रेन क्रिमियालाई रुसलाई सुम्पन तयार छ भन्ने मलाई त्यस्तै लाग्छ।’ ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यो युद्ध अन्त्य गर्नका लागि ‘गोलाबारी रोक्न र सम्झौतामा हस्ताक्षर गर्न’ अपील गरेका छन्।
यो दुई साताभित्रमा हासिल गर्न सकिने ट्रम्पको विश्वास छ। भ्याटिकनबाट फर्किएपछि पत्रकारहरुसँग ट्रम्पले यस्तो बताएका हुन् । अप्रिल २६ मा पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागी हुने क्रममा ट्रम्पले जेलेन्स्कीसँग छोटो भेट गरेका थिए । ट्रम्पले भेट राम्रो भएको र क्रिमियाका विषयमा निकै छोटो छलफल भएको बताए ।
ट्रम्पको पछिल्लो टिप्पणीप्रति युक्रेन र रुसबाट हाल कुनै प्रतिक्रिया आएको छैन ।