काठमाण्डौ । चिनियाँ ईभी कार निर्माता कम्पनी एक्सफेङले आफ्नो नवनिर्मित ह्युमनोइड रोबोट,‘आइरन’ प्रदर्शन गरेको छ । कम्पनीले चीनमा आयोजित ‘साङघाई अटो शो’मा उक्त रोबोट प्रदर्शन गरेको हो ।
यो रोबोटमा एआई चिप लगाइनुका साथै ६० वटा ज्वाइन्ट, २०० डिग्रीको स्वतन्त्रता र ३ हजार टप्सको प्रोसेसिङ पावर रहेको छ । आफ्नो पहिलो ह्युमनोइड रोबोट,‘आइरन’लाई कम्पनीले गत नोभेम्बरमा पहिलोपटक सार्वजनिक गरेको थियो । एक्सफेङका अनुसार ‘आइरन’को प्रयोग कम्पनीको अटोमोटिभ प्रोडक्सन लाइनमा भईरहेको छ । यो रोबोटले अब आउने कम्पनीको ईभी गाडीहरुलाई एसेम्बल गर्ने जनाइएको छ ।
यो रोबोटको उचाई ५ फिट ८ इन्च(१.७३ मिटर) रहेको छ । यस्तै यसको तौल १५४ पाउण्ड(७० किलोग्राम) रहेको छ । आइरन नाम दिइएको यो रोबोट मानिसजस्तै स्वरुपमा निर्माण गरिएको छ । यसको हात २२ डिग्री स्वतन्त्रताका साथ १ः१ स्केल अनुपातमा निर्माण गरिएको छ । जसका कारण यसले सटिक र लचक तरिकाले वस्तुहरु उचाल्न वा राख्न सक्छ ।
एक्सफेङका अनुसार यो रोबोटको एडभान्स्ड मोबिलिटी ‘इन्ड–टु–इन्ड लार्ज मोडल’बाट निर्देशित छन् । यसका साथै यसमा सुढृण सिकाई, सहज र प्राकृतिक हलचल र स्थिर भएर हिड्न सक्ने क्षमता रहेका छन् ।
आइरनको भ्वाइस इन्टर्याक्सन सिस्टम एक्सफेङको स्मार्ट ककपिटबाट लिइएको छ । जसले बौदिक र तर्कसंगत प्राकृतिक सम्वाद गर्न सहयोग गर्छ । यसका साथै, यसमा कम्पनीको ईभी सवारी साधनमा जस्तै कोर एआई सिस्टमको प्रयोग गर्दै एक्सफेङको स्वचालित सवारी प्रविधिपनि एकिकृत गरिएको छ । यसले अटोमोटिभ र रोबोटिक इकोसिस्टमबीचको दुरीलाई कम गर्न वा जोड्ने काम गरेको छ ।
यो रोबोटमा एक्सफेङको ‘ट्युरिङ एआई चिप’ र ‘टियान्जी एआईओएस’ सफ्टवेयर सिस्टम प्रयोगमा छन् । यी दुवैले संयुक्त रुपमा उन्नत बौदिक धारणा, चालढाल र अन्तरक्रिया प्रदान गर्ने गर्छन । कम्पनीले आइरनको सिस्टमले ३ हजार टप्सको प्रोसेसिङ पावर बोस्ट गरेको दाबी गरेको छ ।
रोबोटको ‘इगल आई’ भिजन सिस्टम उन्नत क्यामेराले सुसज्जित छ । यसले वातारणको सचेतना र निर्णय लिनसक्ने क्षमतालाई सुनिश्चत गर्ने जनाइएको छ । यसका अतिरिक्त यसमा ७२० डिग्रीको एआई भिजन सिस्टम पनि रहेको छ । जुन एक्सफेङको स्वचालित सवारी प्रविधिमा समेत रहेको छ ।
कम्पनीले आयरनलाई व्यक्तिगत सहयोग कार्यालय, घर र खुद्रा स्टोरहरुमा व्यवस्थापन तथा ग्राहक सेवाका लागि प्रयोग गर्न सकिने परिकल्पना गरेको छ ।