काठमाण्डौ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आवमा स्वदेशमा उत्पादित विद्युत निर्यात गर्न सहजीकरण गर्ने बताएका छन् ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को व्यवस्थाबमोजिम आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले उत्पादित विद्युतको आन्तरिक खपत वृद्धि गर्न तथा बचत हुने विद्युत निर्यात गर्न सहजीकरण गर्ने बताएका हुन् ।
साथै, आगामी आवमा उर्जा मिश्रणको अवधारणा अनुरुप सौर्य उर्जा विकासलाई प्रोत्साह गर्ने र विद्युत वितरण प्रणालीलाई आधुनिकीकरण गरी विश्वसनीय बनाउने समेत अर्थमन्त्री पौडेलले बताए ।
त्यस्तै, सुक्खायामको उर्जा माग पुरा गर्न जलाशययुक्त आयोजनाको निर्माणलाई प्राथमिकता दिने, जलविद्युत उत्पादन र प्रशारण आयोजनमा निजी पूँजी परिचालन गर्न प्रोत्साहन गर्ने र आन्तरिक र अन्तरदेशीय प्रशारण लाईन निर्माण गर्न प्राथमिकता दिइने समेत मन्त्री पौडेलले बताए ।