काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ग्राउण्ड जिरोलाई निरन्तरता दिएका छौ । यसै सिलसिलामा आज हामीले बुद्धनगर र अनामनगर आसपासका ब्रोकरहाउसहरुमा पुगेर लगानीकर्ता तथा ब्रोकर सञ्चालकहरुको बिचार बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । बिहान ११ बज्दा नबज्दै हामी बुद्धनगरमा रहेको कलश सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ७४) मा पुग्यौं ।
बिहान पहिलो प्रहरमा लगानीकर्ताहरुको आउने क्रम जारी थियो । ब्रोकर हाउसमा केही लगानीकर्ताहरु निकै आशाबादी देखिन्थे भने केही निकै निराश पनि । यतिकैमा एक लगानीकर्ताले मुख खोले ‘विष्णु पौडेल अर्थमन्त्री हुँदा सेयर बजार एक हजार अंकले बढ्यो । अब विश्वनाथ पौडेल गभर्नर हुँदा पनि एक हजार अंकले बढ्ने त होला नी ! साथीहरु ?’ संगै बसेका एक लगानीकर्ता केही निराश हुँदै भने, ‘मलाइ त यो सेयर बजार पुग्यो । बरु बन्द नै गरिदिए पनि हुने जस्तै भएको छ ।’
उनले यस्तो भनेपछि सँगै बसेका अर्का एक लगानीकर्ताले धेरै निराश नहुन सुझाव दिए । ‘यो बजारले एक दिन पक्कै दिन्छ । दिन थाले पछि छप्पड फाडेरै दिन्छ । प्रतिक्षा त गर्नुहोस,’ उनले भने । ब्रोकर हाउसमा यस्तै गफगाफ चल्दै थिए । बजार सामान्य अंकले तल माथि गर्दै थियो ।
यहाँबाट हामी अनामनगरमा रहेको दीपशिखा धितोपत्र (स्टक ब्रोकर नम्बर ३८) मा पुग्यौं । यहाँ केही महिला लगानीकर्ता बजार हेर्न मस्त देखिन्थे । यस ब्रोकरमा केही नयाँ लगानीकर्ताहरु पनि देखिन्थे । मध्यान्नको १२ बजिसकेको थियो । बजारमा बिस्तारै बिक्री दबाब पर्दै थियो । यसै ब्रोकरमा भेटिएका केही लगानीकर्ताले नयाँ गभर्नर आए पनि आज बजारले गति लिन नसकेका बताए । यतिकैमा एक लगानीकर्ताले मुख खोले, ‘यही १५ गते बजेट आउदै छ । सरकारले कर बढाउन थालेको हो रे साथीहरु ?’ संगै बसेका लगानीकर्ताले भने, ‘आफूले त कर्मचारीको तलब बढ्न लागेको भनेर सुनको हो । तर करको विषयमा त केही जानकारी छैन ।’
उनले थप्दै भने, ‘अघिल्लो बजेटमा सरकारले करका केही बिषय चलाएको थियो । लगानीकर्ताहरु आन्दोलित पनि भएका थिए । लगानीकर्ताहरुले अब भने अन्तिम करको माग गरेका छन् । सरकारले बनाउन सकेको छैन । यहि विषयलाई लिएर बजारमा हल्ला मात्रै फैलिएको होला ।’
मध्यान्हको एक बज्दै थियो । बजार सामन्य अंकले तल माथि गर्दै थियो । यहाँबाट हामी भोले गणेष सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ६१) मा पुग्यौं । यस ब्रोकरमा पनि केही महिला र केही पूरुष लगानीकर्ता गफमा मस्त र ब्यस्त देखिन्थे । यतिकैमा एक महिला लगानीकर्ताले भनिन् ‘मैले त अपि पावरको सेयर किनेको बढ्दै बढेन । यो सेयर बजारमा पनि भाग्यकै भर रहेछ ।’ उनको यस्तो कुरा सुनेपछि संँगैका लगानीकर्ताले भने, ‘भाग्य भन्दा पनि खेलाडीको भर हो, यो बजारमा हेर्नुहोस । खेलाडीले किन्दा सूचना थाहा पाए कमाइन्छ, होइन भने त उही ताल हो ।’
केही समयको बसाईपछि हामी आर्यतारा सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ५७) मा पुग्यौं । यस बेलासम्म दिनको २ बज्दै थियो । लगानीकर्ताहरु बजार हेर्नमा मस्त देखिन्थे । यतिकैमा एक लगानीकर्ताहरु भने, ‘लौ ! साथीहरु आज पनि २ बजेपछि बजार खस्ने काम सूरु भयो । आज पनि बजार घटेर नै बन्द हुने भयो ।’ उनको कुरा सुनेपछि केही लगानीकर्ता आपसमा कानेखुसी गर्न थाले ।
हामीले केही समय ब्रोकर सञ्चालकसँग पनि बजारको विषयमा जिज्ञासा राख्यौं । ब्रोकर सञ्चालकले अब गभर्नरले नीतिगत सुधार गरे पछि बजारमा बिश्वास बढ्नेमा जोड दिए । उनले बजारमा नयाँ पैसा आउन बिश्वासको अभाव रहेको समेत बताए । ‘अहिले बजारमा विश्वासको अभाव देखिन्छ र फेरि विश्वास बढ्ने बित्तिकै बजार पनि बढ्छ,’ उनले भने ।
यसबेलासम्म साढे २ बजिसकेको थियो । बजारमा बिक्री दबाब कायमै थियो । ब्रोकर हाउसमा लगानीकर्ताहरुबीच आगामी बजेटमा करको बारेमा कस्तो व्यवस्था आउने हो भनेर अन्यौलता रहेको पाइयो ।