मंगलवार, असार ९,२०८३ 12:17:34
Bizshala
  • मंगलवार, असार ९,२०८३ 12:17:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विष्णु पौडेल पक्राउपछि एमालेको राजनीतिक प्रतिवाद घोषणा, ओली–पोखरेलले लगाए प्रतिशोधको आरोप

Laxmi Sunrise Bank Limited
विष्णु पौडेल पक्राउपछि एमालेको राजनीतिक प्रतिवाद घोषणा, ओली–पोखरेलले लगाए प्रतिशोधको आरोप

काठमाण्डौ । नेकपा एमालेले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको पक्राउविरुद्ध कानुनीसँगै राजनीतिक प्रतिवाद गर्ने घोषणा गरेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा सोमबार सुर्खेतबाट प्रहरीले पौडेललाई नियन्त्रणमा लिएपछि एमाले नेतृत्वले यसलाई अनुसन्धानको सामान्य प्रक्रिया नभई सरकार निर्देशित राजनीतिक कदमको संज्ञा दिएको हो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोमबार साँझ वक्तव्य जारी गर्दै पौडेललाई सांगठनिक कार्यक्रमका क्रममा सुर्खेतमा रहेका बेला ‘गैरकानुनी ढंगले अपहरण शैलीमा’ पक्राउ गरिएको आरोप लगाए। उनले घटनाप्रति पार्टीको तर्फबाट घोर निन्दा र भर्त्सना व्यक्त गरेका छन्।

New Office
CG Motors
Garima Development Bank

ओलीले एमाले कानुनी राज्य, सुशासन र विधिको शासनको पक्षमा दृढ रहेको उल्लेख गर्दै विपक्षी दलका नेतामाथि भइरहेको कारबाहीलाई राजनीतिक प्रतिशोधका रूपमा व्याख्या गरेका छन्। वर्तमान सत्तापक्षले विपक्षी दलप्रति अराजनीतिक, अलोकतान्त्रिक र नांगो प्रतिशोधको व्यवहार देखाइरहेको उनको आरोप छ।

पार्टी अध्यक्षको वक्तव्य आएको केही बेरमै महासचिव शङ्कर पोखरेलले सामाजिक सञ्जालमार्फत थप कठोर प्रतिक्रिया दिएका छन्। उनले पौडेलको पक्राउलाई ‘सस्तो लोकप्रियता’ र ‘स्टण्ट’ का लागि गरिएको कदमको संज्ञा दिएका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पोखरेलका अनुसार कुनै पनि विषयमा पहिले निष्पक्ष र गहिरो अनुसन्धान हुनुपर्ने, तथ्य तथा प्रमाण सङ्कलन गर्नुपर्ने र अभियोजनपछि अदालतको निर्णयका आधारमा प्रक्रिया अघि बढ्नुपर्ने न्यायिक मान्यता विपरीत पौडेललाई पक्राउ गरिएको हो।

उनले पार्टी कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका पौडेललाई नियोजित रूपमा नियन्त्रणमा लिइएको आरोप लगाए। पोखरेलले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकले केही समयअघि फोनमार्फत पौडेललाई भोलिपल्ट काठमाडौं आएपछि सम्पर्कमा आउन अनुरोध गरेको र त्यसको केही समयपछि सुर्खेत प्रहरीलाई पत्राचार गरी नियन्त्रणमा लिन निर्देशन दिइएको दाबी गरेका छन्।

‘यसले अनुसन्धान गर्ने राज्यका निकायलाई अदृश्य शक्तिकेन्द्रले सञ्चालन गरिरहेको देखाउँछ,’ पोखरेलको आरोप छ।

एमाले महासचिवले राज्यका अनुसन्धान निकाय स्वतन्त्र, निष्पक्ष र कानुनसम्मत हुनुपर्नेमा जोड दिएका छन्। अनुसन्धान तथा अभियोजन प्रक्रिया तथ्य, प्रमाण र कानुनको अक्षरशः पालनामा आधारित हुनुपर्ने भन्दै उनले कसैलाई सिध्याउने वा रिसइबी साँध्ने हतियारका रूपमा कानुनी संयन्त्र प्रयोग गर्न नहुने बताएका छन्।

एमालेले वास्तविक दोषीलाई कानुनी कठघरामा ल्याउनुपर्ने पक्षमा आफूहरू रहेको पनि स्पष्ट पारेको छ। तर, पौडेलको गिरफ्तारी पूर्वाग्रही र प्रतिशोधपूर्ण देखिएको भन्दै पार्टीले यसविरुद्ध कानुनी र राजनीतिक दुवै मोर्चाबाट दृढतापूर्वक प्रतिवाद गर्ने जनाएको छ।

पौडेल पक्राउ प्रकरणसँगै एमालेले सरकारमाथि प्रतिशोधको आरोप लगाउँदै सडकदेखि संसद्सम्म राजनीतिक दबाब बढाउने संकेत गरेको छ। यता, अनुसन्धान निकायले पक्राउको कानुनी आधार, आरोप तथा अनुसन्धानको अवस्थाबारे विस्तृत आधिकारिक जानकारी सार्वजनिक गर्न बाँकी छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.