काठमाण्डौ । लघुबीमा कम्पनीहरुले एक अर्ब भन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार ७ लघुबीमा कम्पनीले चालु आवको १० महिनासम्म १ अर्ब ७४ करोड ९५ लाख रुपैयाँ प्रिमियम भित्र्याएका छन् । यो प्रिमियम गत आवको सोही अवधिसम्मको तुलनामा ४९१.४३ प्रतिशत बढी हो ।
गत आवको सोही अवधिसम्म लघुबीमकहरुले २९ करोड ५८ लाख रुपैयाा मात्रै प्रिमिमय संकलन गरेका थिए । यस अवधिसम्म आइपुग्दा लघुबीमा कम्पनीहरुले आफ्नो शाखा सञ्जाल, कर्मचारी संख्या र पूँजी बृद्धि गरि व्यवसायमा समेत उल्लेख्य बृद्धि गरेका छन् । नेपाल बीमा प्राधिकरणले तोकेको क्षेत्रमा लघुबीमकहरु पुगेर शाखा विस्तार गरी बीमा सेवा दिइरहेका छन् ।
सबै लघुबीमकले सो अवधिसम्म आइपुग्दा उल्लेख्य व्यवसाय बढाएका छन् । जीवन लघुबीमकतर्फ गार्डियन माइक्रो लाइफले ३७ करोड ३६ लाख रुपैयाँ प्रिमियम भित्र्याएको छ । यो रकम गत आवको तुलनामा १४०४.८६ प्रतिशत बढी हो ।
त्यस्तै, क्रेष्ट माइक्रो लाइफले ३६ करोड २३ लाख र लिबर्टी माइक्रो लाइफले २४ करोड ६६ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । गत आवको तुलनामा क्रेष्ट माइक्रो लाइफको व्यवसाय ४७१.७७ प्रतिशत र लिबर्टी माइक्रो लाइफको १६८८.४७ प्रतिशतले बृद्धि भएको छ । यता निर्जीवन लघुबीमकतर्फ नेपाल माइक्रो इन्स्योरेन्सले २१ करोड ५२ लाख रुपैयाँ प्रिमियम भित्र्याएको छ ।
यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा १८०.३७ प्रतिशत बढी हो । त्यस्तै, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले १९ करोड ७९ लाख, स्टार माइक्रो इन्स्योरेन्सले १८ करोड ३० लाख र ट्रस्ट माइक्रो इन्स्योरेन्सले १७ करोड ६ लाख रुपैयाँ प्रिमियम भित्र्याएका छन् ।
