काठमाण्डौ । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । संस्थाको असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साउन १७ गते विशेष साधारण सभा आह्वान गरेको हो ।
उक्त सभा रुपन्देहीमा रहेको एशियन बुद्ध होटलमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
सभामा संस्थापक तर्फको सेयर स्वामित्व परिवर्तन गरी ६२.४१ प्रतिशत कायम गर्ने तथा सर्वसाधारण तर्फको सेयर स्वामित्व परिवर्तन गरी ३७.५९ प्रतिशत कायम गर्ने गरी वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै संस्थाको प्रबन्धपत्र र नियमावलीमा गरिएको संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै संशोधन, फेरवदल वा परिमार्जनका लागि निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
विशेष साधारण सभा प्रयोजनका लागि संस्थाले साउन ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ साउन ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।