मंगलवार, श्रावण ६,२०८२ 12:51:21
  • मंगलवार, श्रावण ६,२०८२ 12:51:21
Global IME Bank Limited

आईपीओअघि संस्थापक सेयर प्रिमियम मूल्यमा भिडाउने धन्दा मौलाउँदै, केही मर्चेन्ट बैंकहरुको समेत संलग्नता

धितोपत्र बोर्डले स्पष्ट कानून नबनाउँदा सर्वसाधारणको करोडौं डूब्ने जोखिम, दोश्रो बजार समेत प्रभावित

Hyundai Nepal
आईपीओअघि संस्थापक सेयर प्रिमियम मूल्यमा भिडाउने धन्दा मौलाउँदै, केही मर्चेन्ट बैंकहरुको समेत संलग्नता
Shivam Cement

 

काठमाण्डौ । पछिल्लो समय प्रि–आइपीओको नाममा लगानीकर्ताहरुबाट पैसा उठाउने धन्दा मौलाउन थालेको छ । धितोपत्र दोस्रो बजारमा आउनु अगावै विभिन्न कम्पनीहरुको संस्थापक सेयर बिक्री गराउने खेती भित्रभित्रै निकै मौलाइरहेको छ ।  

विशेषतः बैंकहरुले आइपीओको प्रस्ताव ल्याउने कम्पनीहरुलाई थप ऋण दिन थालेपछि बजारमा ‘प्रि–आइपीओ’को नाममा पैसा उठाउने धन्दा मौलाउँदै गएको हो ।  

अझै प्रि–आइपीओको नाममा संस्थापक सेयर बिक्री गराई पैसा उठाउने काम बढी सामाजिक सञ्जालहरुबाट भइरहेको देखिन्छ । कम्पनी पब्लिकमा जाने टुंगो नभई पहिलेदेखि नै प्रि–आईपीओको नाममा सेयर भिडाएर भुक्तानी लिने धन्दा मौलाउँदा सोझा लगानीकर्ताहरु फस्ने जोखिम बढ्दै गएको छ ।  

सामाजिक सञ्जालमार्फत होल्डिङ्स कम्पनी, इन्भेष्टमेन्ट कम्पनी, कृषि कम्पनी, हेलिकप्टर कम्पनी, हाइड्रो कम्पनी, स्टिल कम्पनी र सिमेन्ट कम्पनीमा बढी यस्ता खालका गतिविधि भइरहेका छन् ।  

साथै नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका केही कम्पनीहरुको संस्थापक सेयर बिक्री गराउन मर्चेन्ट बैंक (बिक्री प्रबन्धक)हरु नै लागिपरेका छन् ।  

Muktinath Bikas Bank Limited

केही समयअघि प्रभु केबलकारले आइपीओ नै निष्कासन नगरी अनाधिकृत रुपमा बजारबाट सर्वसाधारणबाट संस्थापक सेयरको नाममा पैसा उठाएको थियो ।  

प्रभु ग्रुपअन्तर्गत रहेका कम्पनीहरुबाट बढी प्रि–आइपीओबाट पैसा उठाउने काम भएको पाइएको छ । यो समूहका केही कम्पनीले प्रतिकित्ता १३० रुपैयाँसम्म प्रि–आइपीओको नामबाट पैसा उठाएका थिए । साथै सोही समूहअन्तर्गतको प्रभु स्टिल्स एण्ड हाइड्रो इन्भेष्टमेन्ट कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले हकप्रद सेयर निष्कासन गर्ने भन्दै सूचना समेत निकालेको थियो ।  

साथै कतिपय मर्चेन्ट बैंकहरुले आफ्ना ग्राहकहरु, एसआईपी होल्डरहरु लगायतलाई समेत प्रि–आइपीओ भन्दै विभिन्न कम्पनीहरुको संस्थापक सेयर भिडाउने काम गरिरहेको पाइएको छ । जस्तै आइपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डका पाइपलाइनमा रहेको अम्बे स्टिल्सको संस्थापक सेयर बिक्री गर्न कुनै एक मर्चेण्ट बैंक लागिपरेको छ ।  

क्यापिटलले २५० रुपैयाँमै यो कम्पनीको संस्थापक सेयर सर्वसाधारणलाई भिडाएको पाइएको छ ।

आइपीओ आउनुअगावै क्यापिटलले सर्वसाधारणमार्फत यो कम्पनीको संस्थापक सेयर साढे दुई सय रुपैयाँमै बेचेको हो । यसरी संस्थापक सेयरमै प्रिमियम मूल्यमा सेयर बिक्री गरिरहँदा दोस्रो बजारमा आउने सम्भावित लगानी समेत अन्यत्र गइरहेको देखिन्छ ।  

त्यस्तै, स्रोतका अनुसार फोन पे को संस्थापक सेयर पनि प्रतिकित्ता १००० रुपैयाँ भन्दा बढीमा बिक्री भइरहेको पाइएको छ ।  

धितोपत्र बोर्डकाअनुसार आइपीओ आउनुअगावै कम्पनीहरुले संस्थापक सेयर बिक्री गर्न नपाउने कानूनी प्रावधान बनिसकेको छैन । यसकारण पछिल्लो समय प्रि–आइपीओको नाममा लगानीकर्ताहरुबाट संस्थापक सेयर खरिद गराई पैसा उठाउने धन्दा मौलाइरहेको छ ।

सनराइज क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले प्रि–आइपीओ सम्बन्धित कम्पनी आफैंले गर्ने यसमा क्यापिटलहरुले संस्थापक सेयर बिकाएर पैसा उठाउन नमिल्ने बताए ।  

‘प्रि–आइपीओ भनेको कम्पनीहरुले आइपीओ आउँदैछ भनेर संस्थागत लगानीकर्तालााई सस्तो दरमा सेयर उपलब्ध गराउने प्रक्रिया हो, तर मलाई लाग्छ यसमा क्यापिटलको कुनै भूमिका हुँदैन र हुनुहुँदैन।’ उनले भने, ‘क्यापिटलको काम भनेको सेबोनको नियम कानूनबमोजिम आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकको जिम्मेवारी लिनु हो, सोहीबमोजिम नै क्यापिटलले कम्पनीहरुको प्राथमिक सेयर निष्कासनको काम गर्ने हो ।’

भित्रभित्रै केही मर्चेण्ट बैंकहरुले भने आफ्नो कम्पनीमा आबद्ध भएका लगानीकर्ताको मोबाइलमा म्यासेज वा इमेलमार्फत फलानो कम्पनीको संस्थापक सेयर खरिद गर्न भन्दै म्यासेज पठाइरहेको पाइएको छ ।  

सनराइज क्यापिटलका सीइओ श्रेष्ठले भने क्यापिटलहरुले यस्तो काम औपचारिक रुपमा गर्नै नमिल्ने बताए । ‘धितोपत्र नियमकानून अनुसार यसरी क्यापिटलहरुले प्रि–आइपीओको नाममा संस्थापक सेयर बिकाउने कस्तो प्रावधान छ, त्यो त मलाई थाहा भएन तर यसरी औपचारिक रुपमै सेयर बिक्री गराउन नमिल्नुपर्ने हो’ उनले भने, ‘कम्पनीहरु आफैंले प्रि–आइपीओ गर्न पाउँछन् तर मर्चेण्ट बैंकको काम आइपीओ निष्कासनको लागि बिक्री प्रबन्धक मात्रै बन्नु हो यसरी आइपीओ अगावै संस्थापक सेयर बिक्री गराउन नमिल्ला ।’

यता नेपाल धितोपत्र बोर्डका सह–प्रवक्ता तोलाकान्त न्यौपानेले भने धितोपत्रको नियममा हालसम्म प्रि–आइपीओको नाममा संस्थापक सेयर बेच्न नपाउने प्रावधान नबनेको बताए ।  

‘हालसम्म बोर्डको नियममा सो खालको कानून बनिसकेको छैन, यसलाई त्यसरी गैरकानूनी नै भन्ने व्यवस्था नबनेको हुनाले बोर्डले यस्तो गतिविधिमा क्षेत्राधिकार जमाउन मिल्दैन’ उनले भने, ‘तर यहि कुरामा नै गलत अभ्यास भइरहेको अवस्थामा बोर्डले अवश्य सो सम्बन्धी कानून बनाउनेछ ।’

साथै पछिल्लो समय प्रि–आइपीओको नाममा यस्ता गलत अभ्यास बढिरहेको हुँदा बोर्डले सोसम्बन्धी छलफल समेत अघि बढाइसकेको न्यौपानेले बताए । ‘अहिले नै यस्ता कुरामा लगानीकर्ता फस्न नदिन कानून बनिसकेको छैन, तर लगानीकर्ताहरु पनि आफैं यस्ता गतिविधिहरुप्रति सजग रहनुपर्दछ, आफूले लगानी गर्न लागिएको कम्पनीको बारेमा विस्तृत जानकारी लगानीकर्तामा हुनुपर्छ’ उनले भने, ‘बरु लगानीकर्ताले त्यस्ता कम्पनीको संस्थापक सेयरमा लगानी गर्नु भन्दा अघि कम्पनीको करको विषय, लकइन पिरियड र कम्पनीको समग्र अवस्थाको विषयमा विश्लेषण गर्नुपर्दछ ।’

धितोपत्र बोर्डले लगानीकर्तालाई सुुसूचित गराउन विभिन्न जानकारीहरु गराउँदै आइरहेको न्यौपानेको भनाई छ । ‘हामीले बेलाबखतमा लगानीकर्ताहरुलाई सूचीकरण नभइकन त्यस्ता कम्पनीमा लगानी गर्नहुँदैन भन्दै आइरहेका छौं, तर कस्तो कम्पनीमा लगानी गर्ने वा नगर्ने पूर्ण अधिकार लगानीकर्तामा हुने भएकाले हामीले क्षेत्राधिकार जमाउन मिल्दैन’ उनले भने, ‘प्रि–आइपीओको नाममा कम्पनीहरुले सेयर बिक्री गराउँदा लगानीकर्ताको लगानी जोखिम हुन सक्छ, किनकी आइपीओ अगावै यसरी पैसा उठाउँदा लगानी लामो समयसम्म बिनाप्रतिफल होल्डमा बस्ने चान्स बढी हुन्छ ।’

यसका साथै धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीहरुले प्रि–आइपीओको नाममा लगानीकर्ताबाट पैसा उठाएमा भने बोर्डले चासो देखाउने न्यौपानेले बताए । ‘हालसम्म आइपीओ निष्कासनको लागि अनुमति नमाग्ने कम्पनीको हकमा हामीले केही गर्न मिल्दैन, तर पाइपलाइनमा रहेका कम्पनीले त्यस्तो कार्य गरेको थाहा पाएमा बोर्डले अवश्य चासो व्यक्त गर्नेछ’ उनले भने, ‘त्यस्ता कम्पनीहरुले गलत अभ्यास गरेको पाइएमा बोर्डले आफ्नो नीति नियममा अझ बढी ध्यान दिई लगानीकर्तालाई सचेत गराउनेछ ।’

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.