काठमाण्डौ । युरोप र मध्य पूर्व यतिबेला चरम गर्मीको चपेटामा परेको छ । जसका कारण धेरै देशहरूमा जलवायु आपतकाल घोषणा गरिएको छ। इरानको राष्ट्रिय मौसम विभागका अनुसार इरान यस वर्षको अहिलेसम्मकै सबैभन्दा तातो हप्तामा प्रवेश गरेको छ । जहाँको तापक्रम ५० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ।
राजधानी तेहरानमा आइतबार तापक्रम ४० डिग्री सेल्सियस मापन गरिएको थियो।
राजधानीमा पानी आपूर्ति गर्ने बाँधहरू ूपछिल्लो १०० वर्षमा सबैभन्दा कम स्तरमाू पुगेकाले तेहरान जल प्राधिकरणले मानिसहरूलाई पानीको खपत कम्तिमा २० प्रतिशतले कटौती गर्न अपील गरेको छ।
यस्तै यो गर्मीको पहिलो लामो लहर तेहरानबाट करिब ३५ सय किलोमिटर पश्चिममा रहेको ग्रीसको राजधानी एथेन्समा पुगेको छ।
नेशनल अब्जर्भेटरीका अनुसार उत्तरी अफ्रिकाबाट आएको तातो हावाले यस क्षेत्रमा हिट चेम्बर सिर्जना गरेको छ। जसका कारण सामान्य तापक्रमभन्दा १० डिग्री बढी तापक्रम रेकर्ड भइरहेको छ । यो साताको औसत अधिकतम तापक्रम ३८ डिग्री पुग्न सक्छ भने कतिपय स्थानमा ४४ डिग्रीसम्म पुग्न सक्ने जनाइएको छ । ग्रीक अखबार ‘द नेशनल हेराल्ड’ ले यसलाई ‘नरक भन्दा तातो’ भनेको छ।
यो अत्यधिक गर्मी र तेज हावाका कारण ग्रीसको जंगलमा भीषण आगलागी भएको छ । क्रेट टापुमा लागेको आगलागीले जंगल र जैतूनका रूखहरू जलेर खरानी बनेको छ । जसका कारण हजारौं मानिसहरूलाई विस्थापित हुनु परेको छ । यसै क्रममा एथेन्स नजिकै अर्को आगलागी आवासीय क्षेत्रमा पुगेको छ ।
टर्किमा पनि अवस्था गम्भीर छ, जहाँ जुन २६ पछिको १० दिनमा जम्मा ७६१ वटा जंगलमा आगलागी भएको थियो। पश्चिमी इज्मिर प्रान्तमा आगलागीमा परेर एक वृद्ध र एकजना वनकर्मीको मृत्यु भएको छ।
स्पेन, इटालीलगायत युरोपका विभिन्न भागमा गर्मीका कारण अहिलेसम्म कम्तीमा आठ जनाको मृत्यु भएको छ । विश्व मौसम विज्ञान संगठनका प्रवक्ता क्लेयर नलिसले भने, ‘हामी अहिले शक्तिशाली उच्च चापीय प्रणालीको प्रभावमा छौं,जसले उत्तर अफ्रिकाबाट आउने तातो हावालाई यस क्षेत्रमा रोकिरहेको छ । यसले हाम्रो जीवनमा गहिरो प्रभाव पारेको छ।’

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                