काठमाण्डौ । जापानको टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्को( ले फुकुसिमा दाइची र फुकुसिमा दैनी आणविक संयन्त्रका कामदारहरूलाई सुरक्षित रूपमा उच्च स्थानमा सारिएको जनाएको छ। सुनामिको चेतावनीपश्चात कम्पनीले यस्तो कदम चालेको हो ।
सन् २०११ मा जापानमा आएको विनाशकारी ९.० म्याग्निच्युडको भूकम्प र सुनामीपछि फुकुशिमा दाइची प्लान्टमा ठूलो आणविक दुर्घटना भएको थियो।
टेप्कोले प्लान्टमा कुनै क्षति नभएको र सुनामीको चेतावनीको अनुगमन भइरहेको जनाएको छ ।
यस हप्ताको सुरुमा,टेप्कोले विकिरण स्तर घटाउन पर्याप्त समय दिनको लागि इन्धनको फोहोर पूर्ण रूपमा हटाउन १२ देखि १५ वर्ष ढिलो गर्न सकिने घोषणा गरेको थियो।
सुनामीको छाल होक्काइडो प्रान्तको उत्तरी क्षेत्रमा पुगेको जानकारी दिएको छ । छालहरूको उचाइ करिब १२ इन्च रहेको अनुमान गरिएको छ। सुनामीले होक्काइडोको उत्तर–पूर्वी भागमा रहेको बन्दरगाह सहर नेमुरोलाई असर गरेको छ। जापानी अधिकारीहरूले यसअघि नै सुनामीको छाल निकै उच्च हुन सक्ने चेतावनी दिएका थिए।
रुसको कामचाटका प्रायद्वीपमा भूकम्प आएपछि यो सुनामी आएको हो । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) ले भूकम्पको तीव्रता ८ दशमलव ८ रहेको जनाएको छ ।