काठमाण्डौ । एआई स्टार्टअप कम्पनी परप्लेक्स्टी एआईले गूगलको क्रोम ब्राउजरलाई ३४.५ बिलियन डलरमा खरिद गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गरेको यो प्रस्ताव कम्पनीको हालको मूल्यभन्दा बढी हो । गत जुलाईमा परप्लेक्स्टी एआईको मूल्य १८ बिलियन डलर थियो ।
गूगलले भने परप्लेक्स्टीको खरिद प्रस्तावका बारेमा केही पनि प्रतिक्रिया जनाएको छैन । परप्लेक्स्टी एआई प्रगोगकर्तालाई सजिलो रुपमा प्रश्नहरुको उत्तर तथा लिंक प्रदान गर्ने एआई पावर्ड सर्च इन्जिनको रुपमा परिचित छ । गत महिना कम्पनीले आफ्नो एआई पावर्ड ब्राउजर ‘कमेट’ लञ्च गरेको थियो ।
यो कम्पनी हाल जेनेरेटिभ एआईको क्षेत्रमा दबदबा कायम गर्न तल्लिन रहेको छ । मेटा र ओपन एआई जस्ता कम्पनीहरुले ठूलो धनराशीको तलब र बोनस अफर गरेर एआई क्षेत्रका उच्च इन्जिनियरहरुलाई हायर गरिरहेका छन् ।
परप्लेक्स्टीलाई यसै वर्ष मेटाले अधिग्रहणको प्रस्ताव गरेको थियो । तर दुई कम्पनीबीच अन्तिम सम्झौता भने हुन सकेन ।