काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । यसै सिलसिलामा आज हामीले ज्ञानेश्वर र नक्साल आसपासका ब्रोकरहाउसहरुमा पुगेर लगानीकर्ताहरुको बिचार बुझ्ने प्रयास गरेका छौं ।
हामी सबैभन्दा पहिले ज्ञानेश्वर स्थित सुमेरु सेक्युरिटिज स्टक (ब्रोकर नम्बर ३९) मा पुगेका थियौं । ब्रोकर हाउसहरुमा लगानीकर्ताहरुको उपस्थिति राम्रै थियो । कारोबारको पहिलो प्रहरमा बजारमा केही सुधार भएको थियो । यतिकैमा एक लगानीकर्ताले भने ‘होइन साथीहरु ! यो नेपाल रि – इन्स्योरेन्स त २ हजार नै पुग्छ कि के हो ?’
उनी सँगै बसेका एक लगानीकर्ताले भने, ‘यति नै हो अब बढ्ने । यहाँ भन्दा माथि त जाँदैन होला ।’ उनले थप्दै भने, ‘यी बैंकहरुको सेयर के भएको हो ? रिपोर्ट आए पछि त झनै घट्न पो थल्यो त । आज पनि बजार २८ सय छोएर खस्यो । अघिल्लो साता पनि यस्तै भएको थियो बजार ।’
यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले फरक प्रसंगमा भने ‘रबिलाई त अस्ति एरपोर्टमा पछाडीको गेट्बाट लगियो रे । अगाडी बसेका हामी त हेरेको हेर्यै ।’ यतिकैमा २ जना महिला लगानीकर्ता नमस्कार है !’ भन्दै ब्रोकर हाउसमा छिरे । ‘गत साता ट्रेड टावर बेचेरे राम्रै गरिएछ । आज त राम्रैसँग घटेको छ, ’ उनीसँगै बसेका एक लगानीकर्ताले भने, ‘तपाईहरुले त राम्रै गर्नु भएछ । हामीले त एक हजारप्रति कित्ताका दरले तिरेर ट्रेड टावर चढेको आज घटेर पाँच तलाबाट खसे जस्तै भएको छ ।’ उनको कुार सुनेपछि ब्रोकर हाउसमा एक छिन हाँसो गुन्जियो ।
यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले कुमारी बैंक, नबिल बैंकसाग मर्जमा जाने हल्ला चलेको पनि सुनाए । ब्रोकर हाउसमा यस्तै गल्फति चल्दै थिए । भित्ताको घडिमा १२ बज्दै थियो । बजारमा बिस्तारै बिक्री दबाब पर्दै गरेको थियो ।
केही समयको बसाई पछि हामी नक्सालमा रहेको सनी सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४२) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताको उपस्थिति ठीकै थियो । ब्रोकर हाउसमा फोनका घण्टी बज्दै थिए । बजारमा बिक्री दबाब पर्दै थियो । भित्ताको डिस्प्ले हेर्दै एक लगानीकर्ताले भने ‘लौ आज पनि बजार रातै भएछ ,’ उनले पसिना पुछ्दै थपे, ‘बजारमा सप्लाइनै धेरै भयो । आईपीओ र हकप्रदले बजार ध्वस्त भयो । कम्पनीले डबल–डबल हकप्रद निष्कासन गरेका छन । दोस्रो बजारमा सबै नाफा आए बेच्ने भनेर बसेका छन् । कि त, बैंकलाई अल्पकालिन सेयर कारोबार गर्न दिनु पर्छ । दोस्रो बजारका लगानीकर्ताले मात्रै सेयर किनेर अब बजार धानिन्न ।’
यो बर्षलाई पनि नाफा बुक गर्न नसकिएको बताउदै उनले थपे, ‘महिनामा ४ वटा आईपीओ र हकप्रद आए पछि बजार कसरी टिक्छ खै ? आज पनि रातो भए पछि यस्तै भो बजार ।’ उनले सिटिजन्स बैंक, नबिल र एनआईसीले लाभांश दिन गाह्रो रहेको बताए । अरुले भने केही भएपनि दिने उनले विश्वास व्यक्त गरे ।
यसै ब्रोकरमा भेटिएकी एक महिला लगानीकर्ताले दशैं अघि एकपटक बजार फर्कने दाबी गरिन् । उन्ले थप्दै भनिन् ‘आफू त नेपाल रिपब्लिक मिडिया बेचेर फेरि एचडिएल , हिमालयन रि र केही राम्रा विकास बैंकमा सरेकि छु ।’
ब्रोकर हाउसमा यस्तै गफगाफ चल्दै थिए । मध्यान्नको २ बजिसकेको थियो । बजार एकहोरो खसेको थियो । यहाँबाट हामी नक्सालमा नै रहेको सन् सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ६४) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुको उपस्थिति राम्रै थियो । लगानीकर्ताहरु बजार हेर्न मस्त थिए । यतिकैमा एक लगानीकर्ताले भने, ‘अब त के सेयर बेच्ने? अब त जे सुकै होस्, सेयर होल्ड गर्ने हो । अहिले नबढे पनि दशैंतिहार पछि त कसो नबढ्ला ?’ उनले थप्दै भने, ‘उधारो किन्नेको सेयर सकिए पछि बजार पक्कै बढ्छ ।’