काठमाण्डौ । हङकङको सेयरबजार विगत ४ वर्षकै उच्च नजिक पुगेको छ । सोमबार हङकङको हाङसेङ इन्डेक्स १.९४ प्रतिशतले बढेको छ । यो वृद्धिसँगै हाङसेङ इन्डेक्स २५ हजार ८२९ विन्दुको उचाईमा पुगेको छ ।
यो उचाई विगत ४ वर्षकै उच्च नजिक हो ।
हाङसेङ इनडेक्समा आज बाइडुको सेयरमूल्य सर्वाधिक अर्थात ६.०१ प्रतिशत र जिजन माईनिङ ग्रुपको सेयरमूल्य ५.९४ प्रतिशतले बढ्यो ।
टेक कम्पनीहरुको सेयरमूल्यमा आएको उछालका कारण हाङसेङ इन्डेक्स उकालो लागेको हो । आज हाङसेङ टेक इन्डेक्स ३.११ प्रतिशतले बढ्यो । नियो कम्पनीको सेयरमूल्यमा १४.७३ प्रतिशतको उछाल देखिएको छ ।
यस्तै सेमिकन्डक्टर तथा विद्युतीय सामाग्री उत्पादक एएसएमपीटीको सेयरमूल्यमा पनि ६.७४ प्रतिशतको उछाल आएको छ ।
यस्तै आज चिनियाँ सेयर बजार मापक इनडेक्स सीएसआई३०० पनि लगातार चार दिन बढेको छ । यो इन्डेक्स आज १.३९ प्रतिशतले बढेर ३७ महिनाकै उच्चमा पुगेको छ ।
आज ताइवानको ताईएक्स इनडेक्स पनि २.४७ प्रतिशत, दक्षिण कोरियाको कोस्पी इन्डेक्स १.१४ प्रतिशत, कोस्डाक १.९२, जापानको निक्की२२५ ०.२७ प्रतिशत, टोपिक्स ०.१ र भारतको निफ्टी५० ०.३५ प्रतिशत र सेन्सेक्स ०.२३ प्रतिशतले बढेको छ ।
अमेरिकी केन्द्रीय बैंकले आगामी सेप्टेम्बर महिनाका लागि ब्याजदरमा कटौती गर्ने सम्भावना उच्च रहेकाले आज अधिकांश एशियाली सेयर बजारमा हरियाली छाएको विश्लेषकहरुले बताएका छन् ।