काठमाण्डौ । नेपाल राष्ट्रबैंकको निर्देशनपछि पनि विकास बैंक, बित्त कम्पनी र लघुवित्त वित्तीय संस्थाहरुले सेवा सुचारु गर्न डराएका छन्।
नेपाल राष्ट्रबैंकले बिहीबार बिहान एक निर्देशन जारी गर्दै अत्यावश्यक बैंकिङ सेवा आंशिक रुपमा सुचारु गर्न भनेको थियो ।
केन्द्रीय बैंकको निर्देशनपछि वाणिज्य बैंकका सीईओहरुको छाता संस्था नेपाल बैंकर्स एशोसिएसन(एनबीए)ले बैठक बसेर आजदेखि काठमाण्डौ उपत्यकामा बैंकका सीमित शाखाहरु खोल्ने निर्णय गरेको थियो ।
काठमाण्डौ जिल्लामा प्रत्येक वाणिज्य बैंकले ३ वटा, भक्तपुर र ललितपुरमा भने २ २ वटाको दरले खुलाउने निर्णय भएसँगै आंशिक सेवा सुचारु भइसकेको छ । बैंकहरुले आजदेखि बिहान १० बजेबाट दिउँसो २ बजेसम्म फिजिकल सेवा पनि दिएका छन् ।
डिजीटल कारोबारसँग सम्बन्धित सबै सेवा पनि सुचारु नै छ ।
तर, यही बेला विकास बैंक, वित्त कम्पनी र लघुवित्तको सेवा भने खुलेको छैन । बिहीबार पनि विकास बैंक, वित्त कम्पनी र लघुवित्तका कुनै पनि शाखा वा प्रमुख कार्यालय खुलेनन् ।
किन यस्तो भएको हो त ?
राष्ट्रिय स्तरको एक विकास बैंकका प्रमुख कार्यकारी अधिकृतले बिजशालासँग कुरा गर्दै वाणिज्य बैंकहरुले आंशिक रुपमा सेवा खोले पनि पूर्ण सुरक्षाको अवस्था नदेखिएका कारण आफूहरुले नखोलेको बताए । अझै पनि सुरक्षा व्यवस्था विश्वस्त हुने खालको देखिएको छैन । त्यही भएर हामी डरै–डरका बीच कार्यालय खोल्न नसक्ने निश्कर्षमा पुगेका हौं । ती सीइओले भने ः डेभलपमेन्ट बैंकर्स एशोसिएसनका साथीहरुबीच भएको छलफलमा पनि यही कुरा आयो । त्यसकारण यो सातासम्म हेर्ने नै भन्नेमा हामी एकमत छौं ।
ती सीईओको भनाईअनुसार भोलि पनि विकास बैंकहरु खुल्ने छैनन् । अवस्था सहज भयो भने आइतबार वा सोमबारदेखि भने आंशिक सेवा सुचारु हुनसक्छ ।
बित्त कम्पनी र लघुवित्त वित्तीय संस्थाहरु पनि वाणिज्य बैंकपछि विकास बैंकहरुले के गर्लान् भनेर कुरेर बसेका छन् । उनीहरु पनि सुरक्षा व्यवस्थाप्रति आश्वस्त छैनन्, जसका कारण त्रासका बीच आफ्नो सेवा सुचारु गराउन तयार नभएका हुन् ।