काठमाण्डौ । उद्योगी तथा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले देशमा रोजगारी सिर्जना तथा लगानी गर्न प्रतिवद्ध रहेको बताएका छन् । उनले फेसबुकमा घरको जलेको गेटको फोटो सेयर गर्दै देशमा सकारात्मक परिवर्तन सहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पुरा होस् भन्दै लगानीको प्रतिवद्धता जाहेर गरेका हुन् ।
उनले देशमा लोकतन्त्र अझै बलियो बन्ने अपेक्षा समेत गरेका छन् । ‘केहि व्यवसायी माथि भएको वीभत्स आक्रमणबाट हाम्रो परिवार पनि प्रभावित भयो तर म र मेरो परिवार निरास वा विचलित भएको छैन,’ उनले लेखेका छन्, ‘आजको सुनौलो विहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझै सुदृढ होस् भन्ने कामना सहित हामी पनि अझै सशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिवद्ध रहेको विश्वास दिलाउन चाहन्छु ।’
उनले थप लेखेका छन्, ‘अन्धकार पछिको उज्यालोले हामी सबै नेपालीलाई सद्भाव र एकता कायम गर्न अझै बल मिलोस् ।’