काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्व पौडेलले जेन–जी आन्दोलनका क्रममा केही बैंकका शाखा र एटिएममा आक्रमण भएपनि सम्पूर्ण बैंकिङ प्रणाली सुरक्षित रहेको बताएका छन्।
सोमबार नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालको पदभार ग्रहण कार्यक्रममा बोल्दै गभर्नर पौडेलले ६८ वटा शाखा कार्यालय र ६९ वटा एटिएम प्रभावित भए पनि बैंकलाई लक्षित गरी आन्दोलन नभएको प्रष्ट पारे। उनका अनुसार, बैंकिङ प्रणालीका मूलभूत प्रणाली र सेवामा कुनै समस्या देखिएको छैन।
पौडेलले वर्तमान अवस्थामा सर्वसाधारण र वित्तीय क्षेत्र दुवैको मनोबल घटेको उल्लेख गर्दै त्यसलाई उठाउनेतर्फ ध्यान दिनुपर्ने बताए। “यो घटनाअघि पनि चुनौतीहरू थिए, अहिले थपिएका छन्। तर समाधानका लागि तयारी आवश्यक छ,” उनले भने।
अनुभवी अर्थमन्त्री कार्यभार सम्हालेकाले बैंकिङ क्षेत्रलाई सहज वातावरण मिल्ने विश्वास व्यक्त गर्दै गभर्नर पौडेलले अनावश्यक आत्तिनु नपर्ने र सक्रियतापूर्वक काम अघि बढाउन आग्रह गरे।