काठमाण्डौ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले हालै भएको आन्दोलनका क्रममा लुटपाट र चोरी भएका सामान ढुवानी नगर्न आफ्ना सदस्य व्यवसायीलाई निर्देशन दिएको छ।
महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले सोमबार जारी गरिएको सूचनामा भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा विभिन्न कार्यालय र पसलमा भएको आगजनी, तोडफोड र लुटपाटका क्रममा चोरी भएका हतियार तथा अन्य सामग्री ढुवानी साधनमार्फत ओसार–पसार हुन सक्ने आशंका रहेको जनाएका छन्।
यसरी लुटपाटमा परेका सामानहरूको अवैध ओसार–पसार भएमा कानूनी समस्या निम्तिन सक्ने भन्दै महासंघले सबै सदस्य संस्थालाई सचेत रहन र व्यवसायीलाई त्यस्ता सामान नओसार्न आग्रह गरेको छ ।