काठमाण्डौ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको पर्यवेक्षणका लागि इच्छुक राष्ट्रिय संस्थाहरूलाई निवेदन पेस गर्न निर्वाचन आयोगले आह्वान गरेको छ ।
मंगलबार आयोगले जारी गरेको सूचनामा पर्यवेक्षण अनुमतिका लागि आवश्यक कागजातसहितको निवेदन १५ दिनभित्र पेस गर्न अनुरोध गरिएको छ।
आयोगका अनुसार काठमाडौं उपत्यकामा रहेका संस्थाले निवेदन आयोगकै केन्द्रीय कार्यालयमा पेस गर्न सक्नेछन् भने अन्य जिल्लाका संस्थाले सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमार्फत निवेदन पेस गर्नुपर्नेछ।
पर्यवेक्षणका लागि निवेदन दिने संस्थाले संस्था दर्ता प्रमाणपत्र, विधान, नविकरण प्रमाणपत्र, कार्यसमितिका पदाधिकारीहरूको नामावली, राष्ट्रिय वा अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षणको अनुभव प्रमाण, साथै सो सम्बन्धी ब्रोसर, पुस्तिका वा अन्य प्रकाशनका प्रतिहरू निवेदनसँगै जोड्नुपर्नेछ।
यसअघिका निर्वाचनमा पर्यवेक्षण गरेको भए सो सम्बन्धी प्रतिवेदन आयोगमा बुझाएको प्रमाण पनि पेस गर्नुपर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ।
आयोगका अनुसार अघिल्ला निर्वाचनमा आचारसंहिता उल्लंघन गरी सजाय पाएका वा अनुमतिपछि पनि पर्यवेक्षण प्रतिवेदन नबुझाउने संस्थालाई यसपटक अनुमति दिइने छैन।
त्यस्तै, पर्यवेक्षकले आफ्नो स्थायी बसोबास रहेको वा मतदाता नामावलीमा नाम समावेश भएको क्षेत्रमा भने पर्यवेक्षण गर्न नपाउने व्यवस्था गरिएको आयोगले स्पष्ट पारेको छ।


