काठमाण्डौ । उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिने भएको छ। जेनजी आन्दोलन र प्रदर्शनका क्रममा भएको घटनाबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा सरकारले गठन गरेको जाँचबुझ आयोगले बयान लिने तयारी गरेको हो ।
आयोगले यसअघि नख्खु कारागारका प्रमुख सत्यराज जोशी, कारागारको सुरक्षामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीहरूसँग बयान लिइसकेको छ। सोही क्रममा लामिछानेसँग पनि बयान लिन लागेको हो ।
लामिछाने गत भदौ २४ गते भएको जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट बाहिर निस्किएर पुनः कारागार फर्केका थिए।
उनी सहकारीको रकम अपलचन मुद्दामा पुर्पक्षका लागि नख्खु कारागारमा छन्।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                